सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका मुख्य राजमार्गमा सीसीटिभी क्यामेरा जडानको योजना अलपत्र

आफ्नै योजना कार्यान्वयन गर्न प्रदेशको कानून मन्त्रालय असफल 

गौरीफन्टा नाकामा जडान गरिएकाे सीसीटिभी क्यामेरा
गौरीफन्टा नाकामा जडान गरिएकाे सीसीटिभी क्यामेरा
२०७८ जेठ १३, ०८:१४ खबर संवाददाता

वीरेन्द्र भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय आफ्नै योजना कार्यान्वयन गर्न पनि असफल देखिएको छ। 

कैलाली र कञ्चनपुरका संवेदनशिल क्षेत्रहरुमा हुने अपराध तथा सडक दुर्घटना न्यूनिकरण गर्ने भन्दै सीसीटिभी क्यामेरा जडान गर्ने योजना प्रदेश सरकारको छ। प्रदेश सरकारले २ करोड ५ लाख बजेट समेत चालु आर्थिक वर्षमा विनियोजन गरेको छ। 

तर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्यामेरा जडानको कुनै पनि प्रक्रिया सुरु गरेको छैन। कैलाली–कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग र धनगढी–अत्तरिया ६ लेन सडकमा सीसीटिभी क्यामेरा जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो।

क्यामेरा खरिदका लागि रकम पाएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रक्रिया भने सुरु नगरेको पाइएको छ। प्रदेशको कानून मन्त्रालयको ढिलाइका कारण क्यामेरा खरिदका लागि विनियोजन भएको रकम फिर्ता जाने आशंका गरिएको छ। राजमार्ग क्षेत्रमा हुन अपराध तथा सडक दुर्घटनालाई कम गर्न सीसीटिभी क्यामेरा जडान गर्ने भन्दै २ करोड ५ लाख विनियोजन गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ। खरिदका लागि ठेक्का सम्झौता गरिएको दाबी गरिएपनि कुन कम्पनीसंग कति मुल्यमा सम्झौता गरिएको हो, सो बारेमा भने मन्त्रालयले बताएको छैन्। मन्त्रालयका सचिव चुडामणी पौडेलले क्यामेरा खरिदका लागि ठेक्का भएको बताए। तर सम्झौताको मिति, कम्पनी तथा रकमको बारेमा जानकारी नभएको प्रतिकृया दिए।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा अपराधिक क्रियाकलापसंगै सवारी दुर्घटना समेत सबै भन्दा बढी हुने गरेका छन्। नेपाल प्रहरीलाई अपराध नियन्त्रण तथा ट्राफिक प्रहरीलाई सडक दुर्घटना न्यूनिकरणमा क्यामेराले सहयोग पर्ने अपेक्षा गरिएको छ। तर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यशैलीले निराश बनाएको छ। 

राजमार्ग क्षेत्रमा हुने अपराधजन्य क्रियाकलाप न्यूनिकरण गर्दै अपराध, अनुसन्धान एवं सडक दुर्घटना कम गर्न सुरक्षाको दृष्टिले संवेधनशिल क्षेत्रमा सीसीटिभी क्यामेरा मार्फत निगरानी गर्ने प्रहरी प्रशसनको आशा छ। तर आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी हुँदा मन्त्रालयको खरिदको कार्यप्रगति भने सुन्य देखिएको हो। मन्त्रालयका अधिकारीहरुले भने मन्त्रालयको बचाउ गर्दै निर्माणका लागि ठेक्का सम्झौता भएको दावी गरेपनि कुन कम्पनीसँग ठेक्का सम्झौता गरियो भन्ने विषयमा भने अनविज्ञता जनाएका हुन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पौडेलले सीसीटिभी क्यामेरा खरिद तथा जडानको प्रक्रियामा रहेको बताए। 

कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि कैलाली भन्सारसम्म सीसीटिभी क्यामेरा जडान गर्ने प्रदेश सरकारको योजना छ।  क्यामेरा खरिद तथा जडानको काम भने सुरु समेत भएको छैन्। आन्तरिक मामिला तथा कानून मन्त्रालय योजना कार्यान्वयनमा कम्जोर देखिएको गुनासो गरिएको छ। मन्त्रालयको नेतृत्वको क्षमता नै कमजोर देखिएकाले समयमा क्यामेरा जडानको योजनाको काम नभएको बताइएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले राजमार्ग क्षेत्रमा सीसीटिभी क्यामेरा जडान भएको खण्डमा अपराध तथा दुर्घटना न्यूनिकरण गर्न सहज हुने बताए। उनले तीव्र गतिमा सञ्चालन हुने सवारीको समेत निगरानी गर्न सहज हुने बताए। “हामीसंग जनशक्तिको अभाव छ। क्यामेरा जडान गरिए एक जनाले धेरै ठाउँको निगरानी गर्न सक्छ। प्रविधिको प्रयोग गरे काम गर्न पनि सहज हुन्छ। त्यसैले क्यामेरा जडानको काम चाँडो भएको भए राम्रो हुने थियो,” उनले भने।

प्रदेशको सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउने काम आन्तरिक मामिला तथा कानून मन्त्रालयको हो।

तर सुरक्षाको क्षेत्रमा देखिने कुनै काम भएको छैन्। प्रदेशका नागरिकको जिउ, धानको सुरक्षा आन्तरिक मामिला तथा कानून मन्त्रादयको पनि हो। तर प्रदेश प्रहरी गठन भएको  भन्दै प्रदेशको कानून मन्त्रालय पछि हट्दै आएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा प्रत्येक वर्ष एक सय ५० बढीले सवारी दुर्घटनामा ज्यान गुमाउदै आएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयले कैलाली–कञ्चनपुरसंगै पहाडी जिल्लामा समेत सीसीटिभी क्यामेरा जडान गर्नु पर्ने बताएको छ।

सम्बन्धित समाचारहरुः

सुदूरपश्चिम सरकारको सीसी टिभि क्यामरा खरिद टेण्डरको ‘स्पेसिफिकेसन’मै त्रुटि, जडानमा ढिलासुस्ती

अपराध नियन्त्रण गर्न कैलाली प्रहरीद्वारा धनगढीको १९ स्थानमा सीसी क्यामेरा जडान


 

कमेन्ट लोड गर्नुस