सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ हुँदै

२०७८ जेठ १३, ०७:३४ खबर संवाददाता

काठमाडौंः  संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन्।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ।

कमेन्ट लोड गर्नुस