सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर सीमामा होल्डिङ सेन्टर बनाउने जिम्मेवारीबाट पन्छियो प्रदेश सरकार

एन्टिजेन आपुर्तिमा मन्त्रालय र केन्द्रकै मत बाँझियो

२०७८ जेठ १०, ११:५२ खबर संवाददाता

वीरेन्द्र भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशसँग सीमा सम्वन्ध जोडिएका क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरिने भन्दै यसअघि प्रदेश सरकार र स्थानीय प्रशासनले व्यापक प्रचार गरेका थिए। तर अहिले आएर प्रदेश र स्थानीय प्रशासनले होल्डिङ सेन्टर निर्माणको काम नेपाली सेनाको भएको भन्दै जिम्मेवारीबाट पन्छिएका छन्। त्यस्तै एन्टिजेन किट आपुर्तिमा पनि सामाजिक विकास मन्त्रालय र सुदूरपश्चिम स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबीच मत बाँझिएको छ। पीसीआरका लागि अहिले ७ हजार किट मात्र छ।

संघीय सरकारले दिने÷नदिने कुनै टुंगो छैन। आपुर्ति केन्द्रले थप किटका लागि बजेट नभएकाले किट आपुर्तिको अन्योल कायमै छ।

प्रदेशसँग सीमा सम्वन्ध जोडिएका क्षेत्रमा आवतजावत रोकिएको छैन्। भारतबाट आउनेहरु सोझै गाउँ–गाउँमा पुगेका छन्। तर सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनले भने सीमामा होल्डिङ सेन्टर निर्माण गर्ने काम नेपाली सेनाको भएको भन्दै जिम्मेवारीबाट पन्छिएका हुन्।

कञ्चनपुरको गड्डाचौकीमा नेपाली सेनाले अस्थायी क्वारेन्टिन बनाएको छ भने होल्डीङ सेन्टरका लागि निर्माणको काम भइरहेको अधिकारीहरुले बताइरहेका बेला गौरीफन्टा नाकामा भने कुनै काम भएको छैन्। जग्गाको टुंगो लाग्ने बित्तिकै होल्डिङ सेन्टर निर्माण प्रक्रिया थालिने बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी यो काम नेपाली सेनाको भएकाले सेनालाई नै बुझ्नुपर्ने बताए।

उसो त प्रदेश सरकारले पनि होल्डिङ निर्माणको जिम्मा सेनालाई दिइएकाले यो विषयमा प्रदेशलाई जानकारी नभएको एक अधिकारीले बताए।

एन्टिजेन आपुर्तिमा मन्त्रालय र केन्द्रकै मत बाँझियो

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आइतवारसम्म ३५ हजार ५३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने ४ सय ३८ जनाले ज्यान गुमाएका छन्। हाल १६ हजारको संख्यामा सक्रिय सङ्क्रमित रहेका छन्। कोरोना भाइरसको ग्राफ दिनप्रतिदिन बढिरहेका बेला एन्टिजेन किट उपलब्धताबारे प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबीच नै मत बाँझिएको छ।

आपुर्ति केन्द्रले १४ हजार २५० एन्टिजेन किट विभागबाट प्राप्त भएको तथ्यांक सार्वजनिक गरिरहेको अवस्थामा सामाजिक विकास मन्त्रालयले भने विभागबाट २० हजार किट प्राप्त भएको दाबी गरेको छ।

त्यस्तै पीसीआर किट हाल ७ हजार मात्र रहेको र बाँकी किट खरिदका लागि बजेट नभएको अधिकारीहरुले बताएका छन्। सुदूरपश्चिम स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम विष्टले पीसीआर किट ७ हजार मात्र रहेको अवस्थामा माथिबाट थप किट आउने कुनै टुंगो छैन, हामीसँग किट किन्ने बजेट नै छैन, उनले भने। उनका अनुसार एन्टिजेन किट भने १२ गते आपुर्तिकर्ताले २० हजार उपलब्ध गराउने भनेको छ।

आपुर्ति व्यवस्थापन केन्द्रले हाल प्रदेशका लागि उपलब्ध रहेको एन्टिजेन किट र पीसीआर किटको तथ्यांक सार्वजनिक गरिरहेका बेला सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले २० हजार एन्टिजेन किट विभागबाट आएको र आफुहरुले थप २० हजार किट खरिद गरेर राखेको दाबी गरेका छन्। तीन चारदिन अघि किटको अभाव देखिएपनि अहिले कुनै अभाव नरहेको उनले बताए।

सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका चार नाकाबाट मात्र नभएर अन्य विभिन्न स्थानबाट समेत नेपाल भित्रिने र बाहिरिनेहरूको सङ्ख्या बढिरहेको अधिकारीहरू बताउँछन्।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण कोरोनाभाइरस केही नियन्त्रण भएको देखिए पनि सीमा सम्वन्ध जोडिएका क्षेत्रहरुमा होल्डिङ सेन्टर नहुँदा कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको छ। यस्तो महामारीको बेलामा पनि यो वा त्यो निकायलाई देखाएर जिम्मेवारीबाट पन्छिने हो भने अवस्था झनै विकराल बन्ने अधिकरीहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस