सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तरी इटलीमा केबल कार दुर्घटना हुँदा आठको मृत्यु

। फोटो स्रोत ।
२०७८ जेठ ९, ०८:४१ रासस

इटली: इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन्।

यस पहिले मृतक सङ्ख्या नौ भएको बताइएको थियो। “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए।

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो।

अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन्। मृतकहरूको सनाखत हुन बाँकी रहेको छ।

इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्‍याइएको छ। आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।

कमेन्ट लोड गर्नुस