सुदूर नेपाललाई विश्वसँग जोड्दै

शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

२०७८ जेठ ९, १२:४२ खबर संवाददाता

धनगढीः शंकर ग्रुप र इन्फिनिटी होल्डिङले सेती प्रादेशिक अस्पतालमा केही दिनिभत्रै अक्सिजन प्लान्ट जडान गर्ने भएकाे छ।

कोभिड-१९ को दोस्रो लहरको संक्रमण र यसको प्रभाव बढेसँगै व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालहरुमा सहयोग गरेका छन्। दुवै समूहले संयुक्त रूपमा हालसम्म साढे ३ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका जनशक्तिलाई हस्तान्तरण गरिसकेका छन्। जसमध्ये सुदूरपश्चिम प्रदेशमा भने ह्युम्यानिटी फाउण्डेसन मार्फत सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान सहितका अन्य सहयोग गरेको इन्फिनिटी होल्डिङले जनाएको छ।

शंकर ग्रुप र इन्फिनिटीले सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग स्थानीय ह्युम्यानिटी फाउण्डेसन नामक सामाजिक संस्थामार्फत प्रदान गरिरहेको जनाएको छ। केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको र अक्सिजन प्लान्टसहित अन्य सामग्री केही दिनमै धनगढीको ह्युम्यानिटी फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाइएको छ।

शंकर समूहका अध्यक्ष उद्योगी शंकरलाल अग्रवाल हुन भने  इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट हुन। भट्टको पुर्ख्यौली  घर डडेल्धुराको अजयमेरु ३ मटेला हो।  धनगढीको हसनपुरमा घर भएका दीपक भट्ट भने हाल काठमाण्डौँमा बस्दै आएका छन्।

शंकर ग्रुप र इन्फिनिटी होल्डिङले केही दिनमै धनगढीको सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी समेत गरेको जानकारी दिएको छ। फ्रान्सबाट एयरलिफ्ट गरेर ल्याइने सो प्लान्ट जडानको जिम्मा भने ह्युम्यानिटी फउण्डेसनलाई दिएको जनाइएको छ। सेती अस्पतालमा जडान हुने नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्यामा ‘हाई फ्लो’ र दैनिक ७ सय लिटर अक्सिजन उत्पादन गर्ने समूहले जनाएको छ ।

दुवै कम्पनीले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १ सय शय्याका  साथै त्यसका लागि आवश्यक सामग्री ह्युम्यानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेको जनाइएको छ। कम्पनीले सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेसनमार्फत सहयोग गर्दै आएको बताएको छ।

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ३ सय २० थान  अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेशका लागि ह्युम्यानिटी फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २ सय थान पीपीई सेट पनि ह्युम्यानिटी फाउण्डेसनलाई  प्रदान गरिसकेको जनाएको छ। इन्फिनिटीले आगामी दिनहरुमा यो बाहेक अन्य आवश्यक सहयोग पनि गर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस