सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै फर्किएनन् सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख

२०७८ जेठ ९, ११:१० खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्रै रेफरल अस्पताल हो। जुन प्रदेशमै कोरोना संक्रमितको उपचार हुने प्रमुख थलो हो। 

तर सोही अस्पतालका कोरोना विभाग प्रमुख डाक्टर शेरबहादुर कमर लामो समयसम्म घर बिदामा बस्दा उनी माहतहका चिकित्सक तथा कर्मचारी र बिरामीलाई प्रत्यक्ष असर परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार कोरोना महामारीको अवधिमा अति आवश्यक बाहेक घर बिदामा बस्ने नपाइने भएपनि उनी पछिल्लो १ महिनादेखि काठमाडौंमै बसेका छन्।

अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदका अनुसार डाक्टर कमर बैशाख ८ देखि १२ गतेसम्म कार्यालयलाई लिखित पत्रमार्फत जानकारी गराएर बिदामा बसेका थिए। धर्मपत्नीलाई कोरोना संक्रमण भएको भन्दै उनले बिदामा बसेका थिए।

बैशाख १३ देखि २६ गतेसम्म डाक्टर कमर मौखिक जानकारी गराएर घर बिदामा बसे। उनी पुनः अस्पताल प्रशासनलाई लिखित निवेदन पठाएर बिदामा बसेका हुन्।

तर पछिल्लो बिदा अवधि पनि जेठ ५ गते नै सकिएको प्रशासन अधिकृत साउँदले दिनेशखबरलाई बताए। तर उनी हालसम्म नफर्किएका हुन्।

डाक्टर कमरले सुरुवाती बिदा अवधिमा बिरामी भएकी धर्मपत्नीलाई घरकै आइसोलेसनमा राखेर उपचार गरेको बताएका थिए। पछिल्लो बिदा अवधिमा उनले बच्चाहरु पनि बिरामी भएको भन्दै बिदामा बसेका थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले डाक्टर कमरको परिवारजन बिरामी परेकोले अस्पताललाई जानकारी गराएर हालसम्म बिदामा बसेको बताए। डाक्टर कमरको अनुपस्थितिमा ३ जना फिजिसियन डाक्टरलाई खटाइएकोले उपचारमा समस्या नभएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेको भनाइ छ। 

अस्पतालको तथ्यांक अनुसार शनिबार साँझसम्म १०३ जना संक्रमित बिरामी उपचाररत रहेका छन्। जसमध्ये १६ जना आईसीयूमा र ८३ जना अक्सिजन सहायतामा उपचाररत रहेको अस्पतालले जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस