सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन प्लान्ट निर्माणमा जुट्यो धनगढीको माया मेट्रो अस्पताल

२०७८ जेठ ८, ०२:४४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माणमा जुटेको छ।

कोरोना महामारीका बीच भोग्दै आएको अक्सिजनको चरम अभाव र महामारीको तेस्रो लहरसँग जुध्न पूर्वतयारी स्वरुप सो अस्पतालले अक्सिजन प्लान्ट जडानमा जुटेको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र साउँदले महामारीमा भोग्दै आएको समस्यालाई मध्येनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिन अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रियाअघि बढाएको जानकारी दिए।

अध्यक्ष साउँदका अनुसार अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आउने भएको छ। अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर ग्यास उत्पादन गर्ने रहेको छ। झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाइएको अध्यक्ष साउँदले बताए।

अध्यक्ष साउँदले भने, “अक्सिजन प्लान्टको खरिदको लागि भारतको कानपुरस्थित याकुरा इन्जिनीयरिंग कम्पनीसँग सम्झौता गरिसकेका छौ। २० देखि २५ दिनमै जडान भइसक्ने छ।”

माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा यो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमकै पहिलो निजी अस्पताल हुनेछ। 

कोरोना महामारीले विकराल अवस्था सिर्जना गरेपछि अस्पतालमा हाल श्वासप्रश्वास सम्बन्धीका बिरामीहरु भरिएका छन्। 

अस्पतालमा हाल १२ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। भने ४२ जना संक्रमित बिरामी निको भइ घर फर्किएका छन्। यस्तै अक्सिजन अभावकै कारण माया मेट्रो अस्पतालमा हालसम्म ४ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म १ सय जनाले सेवा लिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

प्लान्ट जडान भएपछि उपचारमा निकै सहज हुने अस्पतालले जनाएको छ। “महामारीमा अक्सिजनको आवश्यकता पर्दा आफुहरुलाई निकै परनिर्भर महसुस भयो। परनिर्भरतालाई हटाउन र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन तथा कोरोनाको तेस्रो लहर विरुद्धको पूर्वतयारी गर्न अक्सिजन प्लान्ट जडान गर्न लागेका हौ”, अध्यक्ष साउँदले अगाडि थपे।

कोभिड र नन कोभिडका बिरामीलाई छुट्टा–छुट्टै भवनबाट सेवा
माया मेट्रो अस्पतालले कोरोना संक्रमित बिरामी, सोसँग सम्बन्धित लक्षण भएका बिरामी र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै भवनमा रहेको वार्डमा उपचार सेवा दिदै आएको छ। एउटै भवनमामा कोभिड र ननकोभिडका बिरामीलाई राखेर उपचार गर्न जटिल रहेको र बिरामीमा पनि मनोवैज्ञानिक असर पर्ने कुरालाई मध्यनजर गर्दै अलग–अलग भवनमा राखेर उपचार सेवा दिइरहेको उनको भनाइ छ।

माया मेट्रोमा दैनिक ४० देखि ५० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ। तर अस्पतालले ३÷४ दिनको अवधिमा १५÷१६ थान अक्सिजन सिलिण्डर मात्रै पाइरहेको छ । “अहिले निजी अस्पतालहरुमा अक्सिजनको मात्रा शुन्य छ। मुख्य समस्या अक्सिजनको छ।”

अध्यक्ष साउँदले अगाडि थपे, “‘आईसीयूमा पनि राखेर के गर्नु जब अक्सिजन नै छैन भने। मृत्यु दर बढ्नु पनि अक्सिजन अभावकै कारण हो। त्यही भएर हामीले आफ्नै अक्सिजन प्लान्ट निर्माणको प्रक्रियामा जुटेका हौं।”

अस्पतालले २४ औं घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्सरे तथा सिटी स्क्यान सेवा, आईसीयू, एनआईसीयू, पीआईसीयू सेवा, वातावरण अनुकुल क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा दिदै आएको छ।


 

कमेन्ट लोड गर्नुस