सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १९ हजार २८५ जना सङ्क्रमित निको भए

२०७८ जेठ ७, ०१:४४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ।

कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। 

अन्य पहाडी जिल्लाहरू अछाममा १ हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन्।

यस्तै  कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन्। 

सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरू रहेको निर्देशनालयले जनाएको छ। 

कैलालीमा ४ हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय सङ्क्रमित छन्। डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन्।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो। यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४०७ जना संक्रमितले ज्यान गुमाएका छन्।

कमेन्ट लोड गर्नुस