सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

२०७८ जेठ ६, ०८:०७ रासस

ढाका: बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ।

बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो । बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ठ अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप ९सिनोफार्म० बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिए।

एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो। बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले उक्त खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए। बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ। 
 
भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ। सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन्। 
 
बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान सुरु भएको थियो। हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन्। बंगलादेशमा हालसम्म ७ लाख ८३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार २४८ जनाको मृत्यु भइसकेको छ। 

कमेन्ट लोड गर्नुस