सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकाले निम्न र मध्यम आय भएका मुलुकलाई ८ करोड खोप वितरण गर्ने

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ ६, ०१:१९

निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर आफूसँग भएको ८ करोड खोप वितरण गर्ने अमेरिकाले जनाएको छ।

अमेरिकासँग भएको खोपका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्नेमा अमेरिका दबावमा थियो। यद्यपि निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकता राख्नेमा सैद्धान्तिक निष्कर्षमा अमेरिकी अधिकारी पुगेका छन्।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताएकी छन्। उनले भनेकी छन्, ‘हामीले अहिले खोप वितरणका सम्बन्धमा निर्णय गरिसकेका छैनौं। तर हामीले विश्वको हरेक क्षेत्रलाई नजिकबाट हेरिरहेका छौं।’

उनले खोपको आपूर्तिका लागि जी–७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत बताएकी छन्। पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ। उनले भारतका छिमेकी मुलुकहरुमा बढिरहेको आपत्कालीन अवस्थाको बारेमा समेत आफूहरुले नजिकबाट हेरिरहेको बताइन्।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ। विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ।

पहिला आफूसँग रहेको ६ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले दुई दिन अगाडि मात्र थप दुई करोड वितरण गर्ने घोषणा गरेको छ।

अमेरिकी अधिकारीहरुका अनुसार त्यसलाई अझ नबढाएमा विश्वव्यापी रुपमा आएको माग पूरा गर्न सकिंदैन। अमेरिकी राजनीतिज्ञ, नागरिक समाज र मिडियाले त्यहाँको नेतृत्वलाई विश्वव्यापी खोप अभियान सन्चालन गर्न दवाव दिइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस