सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञा अवधिमा पत्रकार आचारसंहिता उल्लंघनका ६५ घटना

२०७८ जेठ ५, ०३:२९ खबर संवाददाता

काठमाण्डौः कोभिड-१९ को दोस्रो लहर सुरु भएयता निषेधाज्ञाको अवधिमा ६५ वटा पत्रकार आचारसंहिता उल्लंघनका घटना भएको प्रेस काउन्सिल नेपालको अनुगमनले देखाएको छ। 

वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्म तीन साताको अवधिमा भएको अनुगमनबाट यी घटना अभिलेखीकरण भएका हुन्। 

प्रेस काउन्सिलका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा अधिकांश अनलाइन समाचार पोर्टल छन्।

अनुगमन अवधिमा भ्रमपूर्ण र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका  मिडियाको संख्या ३८ छ। यी काउन्सिलमा दर्ता नभएका अनलाइन हुन्।

काउन्सिलमा दर्ता नभएका यस्ता अनलाइनहरूलाई नेपालभित्र खोल्नै नमिल्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको छ।

दूरसञ्चार प्राधिकरणले काउन्सिलमा दर्ता नभएका र उसले बन्द गर्न भनेका अनलाइनहरू यसरी खुल्न नमिल्ने बनाउने गरेको छ।

यस्तै ‘कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत’ काउन्सिलले ११ मिडियालाई सचेत गराएको छ। यस्ता दुईवटा मिडियालाई उसले ध्यानाकर्षण गराएको छ।

निधेषाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा तीनवटा मिडियालाई स्पष्टीकरण सोधिएको छ। दुईवटा मिडियासँग जवाफ माग गरिएको काउन्सिलले जनाएको छ। तर यस अवधिमा प्रक्रिया पूरा गरी दर्ता भएका उजुरीको संख्या भने ९ छ। 

वैशाख २८ गतेसम्म ४१ र वैशाख २९ गते यता २४ वटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ। 

काउन्सिलले निषेधाज्ञाको समयमा पनि आफ्ना कर्मचारीले कार्यलय तथा घरबाटै अनुगमन गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ। पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था काउन्सिलले मिलाएको छ।
 

कमेन्ट लोड गर्नुस