सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेमा विवाद मिलाउन कार्यदल गठन

२०७८ जेठ २, ०५:०३ रासस

काठमाडौँ: सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले सञ्चारकर्मीलाई जानकारी दिए। 

उनले कार्यदललाई तीन दिनको समय दिइएको र आवश्यकतानुसार थप्न सकिने बताए। भेटवार्ताबाट निस्किएपछि अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै छलफल ‘सकारात्मक’ भएको बताए। पार्टीलाई सर्वाेच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व (२०७५ जेठ ३) को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको छ। 

सो विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुन थालेपछि पार्टीमा विभाजन हुन सक्ने आशङ्का अन्त्य भएको छ।

कमेन्ट लोड गर्नुस