सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सामुदायिक वनमा बनाइएका अवैध टहरा हटाइयो

। फोटो स्रोत ।
२०७८ जेठ २, ०२:४४ रासस

कञ्चनपुर: कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। 

अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्न बन्द गरिएको छ। निषेधाज्ञाका बेला कृष्णपुर नगरपालिका–२ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण सुरु गरिएको छ।

सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ भन्दा बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन्। टहरा निर्माण गर्नेलाई त्यस क्षेत्रबाट शनिबार हटाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

“अवैध रूपमा सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काएका छौँ”, उनले भने, “टहरा निर्माण गर्नेहरूलाई सम्झाइबुझाई त्यस क्षेत्रबाट भगाइएको छ।” 

तीन दिनअघि मात्रै कृष्णपुर–१ स्थित नवदुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका १०० भन्दा बढी व्यक्तिलाई सबडिभिजन वन कार्यालय वाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो।

कमेन्ट लोड गर्नुस