सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको लागि भर्न पठाइएको खाली सिलिण्डर १२ दिनपछि फिर्ता !

२०७८ जेठ १, ०१:४६ खबर संवाददाता

धनगढीः नेपालगन्जमा रहेको एचओ अक्सिजन उद्योगले अक्सिजन दिन नसक्ने भन्दै अक्सिजन भर्न दिएको १२ दिनपछि खाली सिलिण्डर फिर्ता गरिदिएको छ।

अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेका विरामीहरुका लागि भन्दै १२ दिनअघि एक सय खाली सिलिण्डर धनगढीबाट एचओ अक्सिजन उद्योगमा राखिएको ५० वटा सिलिण्डरमा पाँच दिनभित्रै अक्सिजन भरेर दिएको र बाँकी ५० वटा सिलिण्डर बिना अक्सिजन उद्योगले १२ दिनपछि फिर्ता गरेको धनगढीका व्यवसायी मानसिंह साउँदले बताए।

अन्य डिलर तथा अस्पतालहरुलाई सहज रुपमा अक्सिजन दिने गरेको भएपनि धनगढीका लागि सिलिण्डर राखेको १२ दिनपछि खाली सिलिण्डर फिर्ता दिएको उनले गुनासो गरे। 

एउटै डिलरलाई दैनिक ५०/६० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइरहेको अवस्थामा सेतीका लागि भने १२ दिनअघि खाली सिलिण्डर दिएको भएपनि अहिले आएर अक्सिजन अभाव रहेको भन्दै रित्तै फिर्ता गरेको व्यवसायी साउँदले बताए।

“पैसा तिर्दा पनि सेती प्रादेशिक अस्पताललाई किन अक्सिजन दिन उद्योग सञ्चालकले मानेन् ?” व्यवसायी साउँदले प्रश्न गरे।

तर एचओ अक्सिन उद्योगका सञ्चालकले भने भेरीमै दैनिक अक्सिनको माग ५ सयको हाराहारीमा रहेकाले अक्सिजन दिन समस्या भइरहेको बताएको छ। उद्योगका सञ्चालक अजयकुमार पाठकले सुदूरपश्चिममा अक्सिनको आपुर्ति बन्द नगरिएको तर, भेरीमै अक्सिजनको माग उच्च रहेकाले सबैलाई मिलाएर दिनुपर्ने अवस्था आएको बताए। 

नेपालगन्जबाट अहिले साढे दुई सयको संख्यामा सुदूरपश्चिममा अक्सिजन गइरहेको छ, मेरो उद्योगबाट मात्र विभिन्न सरकारी अस्पतालमा ७० तथा निसर्ग अस्पताल धनगढीमा ३० वटा सिलिण्डर दैनिक रुपमा गइरहेको बताए।

आफ्नो उद्योगको क्षमता नै दैनिक ९ सय सिलिण्डर रहेकाले प्रशासनको नियमअनुसार सबैतिर पु¥याउनु पर्दा समस्या भइरहेको सञ्चालक पाठकले बताए।

सेती प्रादेशिक अस्पतालमा मात्र दैनिक ६०/७० अक्सिजन यहाँबाट गइरहेको छ, आपुर्ति रोक्ने काम कहीँकतैबाट नभएको उनको दाबी छ। 

तर धनगढीका व्यवसायीले अक्सिजनका लागि एक सय सिलिण्डर राख्ने बेलामा नै ५० सिलिण्डर अक्सिन दिन सकिने र बाँकी उत्पादन नै कम भएकाले दिन नसकिने बताएको भएपनि जबरजस्ती सिलिण्डर राखिएको सञ्चालक पाठकको दाबी छ।
 

कमेन्ट लोड गर्नुस