सुदूर नेपाललाई विश्वसँग जोड्दै

२४ करोडमा निर्माण थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय भवन शिलान्यास

२०७८ वैशाख ३१, ०७:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा प्रदेश प्रहरी मुख्यालय भवन शिलान्यास गरिएको छ।

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले भवनको शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ३६ करोड बजेट विनियोजन गरेको थियो।  शुक्रबार शिलन्यास भएको भवन २ वर्षमा निर्माण पुरा गरिसक्ने गरि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २३ करोड ७६ लाख ६ हजार ६ सय २१ रुपैयामा कुमार रोयल जेभीसंग सम्झौता गरिएको छ। 

मन्त्रालयका सचिव चुँडामडी पौडेलका अनुसार प्रदेश प्रहरी कार्यालयका प्राविधिकहरुले तयार गरेको  डिजाइन तथा लागत अनुमान अनुसार मुख्यालय भवन निर्माणको काम थालिएको हो। सचिव पौडेलले भने, ‘हेड क्वार्टरका लागि आवश्यक कार्यालय भवन र क्वार्टरहरु निर्माण हुनेछन।’ 

हाल प्रहरी संघीय सरकारको मातहतमा भएपनि प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रमाणिकरण भएसँग प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन निर्माणको चरणमा छ। उक्त ऐन बनेपछि प्रदेशको प्रहरी संरचना प्रदेश सरकार मातहत आउने छ। 

देश संघीय संरचनामा गएसँगै प्रादेशिक तहका निकायका पूर्वाधारहरु प्रदेश सरकारले निर्माण थालेको हो। यसअघि पनि आन्तिरिक मामिला तथा कानून मन्त्रालयले प्रहरी चौकीका भवनहरु, प्रहरीलाई आवश्यक सवारी साधन तथा उपकरण सहयोग गर्दै आएको छ।


 

कमेन्ट लोड गर्नुस