सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

। फोटो स्रोत ।
२०७८ वैशाख ३१, ०२:१२ रासस

चितवन: जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन्। 

वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन्। यी सबै हेलिकोप्टरमार्फत भएका हुन्। नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन्। यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो।

शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन्। यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो। यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए। 

जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए। कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ। सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन्। 

काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ। बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुर्याउने गरिन्छ।

कमेन्ट लोड गर्नुस