सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जनावरमाथि क्रूरताः कुकुरका ४ छाउरालाई अटोमा बाँधेर घिसार्दै मारियो

२०७८ वैशाख २७, ११:१२ खबर संवाददाता

धनगढी: गत चैत १८ गते काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको घटना सार्वजनिक भएको थियो। 

‘खैरै’ नामक उक्त कुकुरलाई बिजुलीको पोलमा बाँधेर २ जना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर हत्या गरेको घटना देशभरी नै चर्चित बनेको थियो। प्रहरीले समेत उक्त घटनामा अनुसन्धान गरेको थियो। 

सोही प्रकारको घटना कैलालीको धगढीमा पनि दोहोरिएको छ। तर यहाँको घटना अलि फरक छ। धनगढी उपमहानगरपालिका–३ बिशालनगरमा एक जना व्यक्तिले कुकुरका ४ वटा छाउराको हत्या गरेको घटना बाहिरिएको हो। त्यो पनि क्रूरताका साथ। 

धनगढीमा बिगतदेखि सडकमा छाडिएका जनावरलाई हेरचाह गर्दै आएको स्ट्रीट पअ्जकी फाउन्डर रीतिका गुरुङका अनुसार त्यहाँका एक जनाले कुकुरका ४ वटा छाउराको घाँटीमा डोरी बाँधेर अटोमा घिसार्दै हत्या गरेको पाइएको छ।

‘हामीले खबर पाएपछि घटना भएको ठाउँमा जाँदा त्यहाँका स्थानीयले ४ वटा छाउराको हत्या गरेको भन्ने जानकारी दिएका थिएँ। ती व्यक्तिले हत्या गरेर मोहना नदी किनारमा फालेको भन्ने खबरपछि त्यहाँ जाँदा २ छाउराको शव फेला पर्यो’ उनले भनीन। 

ती व्यक्तिलाई हत्याको कारण सोध्दा कुकुरहरुले आफुले पालेको कुखुरा खाइदिएकाले त्यसरी मारेको बताएको गुरुङले बताइन। साथै उनले अब ती छाउराकी आमालाई समेत मार्ने बताएको गुरुङ बताउँछिन्।

मृत अवस्था फेला परेका कुकुरलाई खाल्डोमा पुरिएको छ।  घटनापछि त्यहाँका वडा अध्यक्ष बलबहादुर ऐरलाई जानकारी गराएको र आज प्रहरी चौकी बिशालनगरलाई पनि जानकारी गराउने रीतिका गुरुङले बताइन। 

कमेन्ट लोड गर्नुस