सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालले मागेको ६८ पदको लागि ११९ आवेदन, विशेषज्ञ डाक्टरको लागि आवेदन परेन

२०७८ वैशाख २७, ०७:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल यतिबेला कोरोना कहरमा अभावकै बीच गुज्रिरहेको छ। 

अस्पताललाई चाहिने जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको छ। अस्पतालले बैशाख १९ गते विशेषज्ञ डाक्टरसहित विभिन्न तहका गरी ६८ पद संख्याको लागि आवेदन खुला गरेको थियो। आइतबार आबेदनको अन्तिम दिन थियो। अन्तिम दिनसम्म ६८ पदको लागि ११९ वटा आवेदन परेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदले बताए।

अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदका अनुसार अस्पतालले ४०  जना स्टाफ नर्स माग गरेको थियो। जसको लागि ७१ जनाले आवेदन दिएका छन्। एनेथिसिया पदका लागि २ जना माग गरिएकोमा १ जना, ल्याब टेक्निसियनको लागि २ जना माग गरिएकोमा २१ जनाले आवेदन दिएका छन्।

त्यस्तै, १ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट माग गरिएकोमा  ६ जनाले आवेदन दिएका हुन्।  अस्पतालको स्वीकृत दरबन्दीको ३ र सामाजिक विकास मन्त्रालयको कोभिड कार्यक्रमको लागि ७ जना गरी १० जना मेडिकल अधिकृत माग गरिएको थियो। जसको लागि २ जनाले मात्रै आवेदन दिएका छन्।

१ जना नर्सिङ अधिकृत माग गरिएकोमा ९ जनाले आवेदन दिएका हुन्। १ जना सर्जन विशेषज्ञ माग गरिएकोमा ३ जना, १ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट ९९औं तह० माग गरिएकोमा १ जनाले आवेदन दिएका छन्। १ जना अस्पताल नर्सिङ माग गरिएकोमा ३ जनाले आवेदन दिएको जनाइएको छ।

त्यस्तै, अस्पतालले विशेषज्ञ डाक्टरको लागि पनि आबेदन खुला गरेको थियो। तर आवेदन परेको छैन। २ जना बालरोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग बिशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा आबेदन नपरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस