सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीकाबीच किन घर बिदा बसे सेती अस्पतालका कोभिड विभाग प्रमुख ?

२०७८ वैशाख २६, ०४:५४ खबर संवाददाता

धनगढीः कोरोना कहरको दोस्रो लहरपछि सेती प्रादेशिक अस्पताल धनगढी यतिबेला अभावै अभावमा गुज्रिरहेको छ।

सेतीकै कोरोना अस्पतालमा हाल ५४ जना संक्रमित उपचाररत छन्। भने, सेतीकै आकस्मिक कक्षमा ३२ जना कोरोनाका शंकास्पद बिरामी उपचाररत छन्। शंकास्पद बिरामीलाई पनि कोरोनाकै बिरामीलाई दिइने औषधि चलाइएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

तर महामारीकाबीच अभाव झेलिरहेको अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमर भने यतिबेला घर बिदामा बसेका छन्।

डाक्टर कमरकी धर्मपत्नीलाई कोरोना संक्रमण पुस्टि भएपछि उनी घर बिदाको क्रममा हाल काठमाडौंमा रहेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदले जानकारी दिए।

साउँदका अनुसार डाक्टर कमर बैशाख ८ देखि १२ गतेसम्म कार्यालयलाई लिखित पत्रमार्फत जानकारी गराएर बिदामा बसेका थिए। तर उनी हालसम्म फर्किएका छैनन्। बैशाख १३ गतेदेखि डाक्टर कमर मौखिक जानकारी गराएर घर बिदामा बसेका हुन्।

डाक्टर कमरले बिरामी धर्मपत्नीलाई घरकै आइसोलेसनमा राखिएको बताएका छन्।  अहिलेसम्म बेलाबेलामा अक्सिजन सहायतामा राखेर उपचार जारी राखेको उनले जनाए। तर जारी निषेधाज्ञाका कारण काममा फर्किन सकिने अवस्था नरहेको उनले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै कर्मचारीलाई अत्यावश्यक बाहेकको घर बिदामा नबस्न परिपत्र गरेको छ। साथै सरकारले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई पनि कार्यक्षेत्रमा फर्किन भनिसकेको छ। 

कमेन्ट लोड गर्नुस