सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा औषधिको चरम अभाव, सिटामोल पनि पाउन छोड्यो

२०७८ वैशाख २६, ११:०८ खबर संवाददाता

वीरेन्द्र भट्ट 
धनगढीः कोरोना महामारीका बीच सुदूरपश्चिम प्रदेशभित्र अत्यावश्यक औषधिको चरम अभाव भएको छ।

औषधि आपुर्तिमा भएको ढिलाइका कारण अत्यधिक माग भएपनि औषधि पाउन समस्या भएको हो। कोरोना भाइरसले विकराल रुप लिइरहेका बेला सुदूरपश्चिम प्रदेशभित्र अत्यावश्यक औषधिको अभाव देखिएको हो।

चालु आर्थिक वर्षका लागि करिब १० करोड मुल्य बराबरको औषधि खरिद गर्ने बताइए पनि १ करोड ५० लाख मुल्य बरावरका औषधि मात्र खरिदका लागि बजेट विनियोजन हुँदा औषधि आपुर्तिमा समस्या भएको अधिकारीहरुले बताएका छन्। 

३० लाख सिटामोलसहित विभिन्न २६ प्रकारका औषधि खरिदका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ठेक्का सम्मझौता गरेको बताएपनि अहिलेसम्म कुनै पनि औषधिको आपुर्ति नहुँदा अभाव भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। 

वर्षमा करिव ३ करोड सिटामोल आवश्यक पर्ने भएकोमा ३० लाख सिटामोल आपुर्तिका लागि मात्र सम्झौता हुँदा वर्षभरी नै सिटामोललगायत औषधिको अभाव हुने देखिएको केन्द्रका निमिक्त प्रमुख पदम विष्टले बताए। 

सरकारी तथा निजी अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहेका बेला औषधिको समेत अभाव देखिएपछि बिरामीहरुको उपचारमा समस्या भइरहेको बताइएको छ।

भाइरसका विरामीले सरकारी तथा निजी अस्पतालहरु भरिभराउ भइरहेका बेला सिटामोल, मेट्रो निडाजोल र आयोसिनलगायत औषधिको अभाव भइरहेको छ। तर, आपूर्ति गर्ने व्यवस्थापन केन्द्रसँग पर्याप्त औषधि नहुँदा बिरामी बचाउन समस्या भइरहेको हो।

कोटाअनुसार कुनै औषधि छैन। करिब २ करोड सिटामोल आवश्यक पर्ने देखिएकोमा ३० लाखका लागि मात्र सम्झौता हुँदा महामारीजन्य रोगको प्रकोप फैलिरहेको अवस्थामा औषधि अभावले गम्भीर समस्या निम्तने खतरा बढेको अधिकारीहरुको भनाइ छ। अत्यावश्यक औषधिको माग हरेक वर्ष बढ्दै गएपनि बजेट अभावका कारण आपुर्तिमा समस्या भइरहेको प्रमुख विष्टले बताए।

सुदूरपश्चिमका सबै जिल्लामा सामान्य ज्वरो, पेट दुखाइ र वर्षातमा हुने पानीजन्य रोगका औषधिको अभाव छ। तर अघिल्लो वर्षदेखि नै मागअनुसार आपूर्ति नहँुदा अभाव भएको स्वास्थ्य कार्यालयका अधिकारीहरुले बताएका छन्। कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको अवस्थामा सरकारीमा मात्र नभएर निजी अस्पताहरुमा समेत औषधिको अभाव हुन थालेको छ। 

मागअनुसार औषधि पाउन समस्या भइरहेको निजी अस्पताल सञ्चालकहरुले बताएका छन्। आफुहरुले खोजेको औषधि पाउनै मुश्किल भएको माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँदले बताए। कोरोना भाइरसका बिरामी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा गुणस्तरीय औषधि पाउन समस्या भइरहेको उनको भनाइ छ।

सुदूरपश्चिममा कोरोना भाइरस, भाइरल ज्वरो, रुघाखोकी र टाइफाइडलगायत रोगका बिरामी बढेका छन्। तर, औषधि छैन। आइरन चक्की र टाइफाइडको औषधिसमेत अभाव भएको हो। निःशुल्क औषधिसमेत मेडिकलबाट किन्नुपर्ने अवस्था छ। तर निजी अस्पतालहरुमा समेत औषधि अभाव हुन थालेपछि विरामीको उपचारमा समस्या हुन सक्ने भन्दै औषधि आपुर्तिमा जोड दिन अस्पताल सञ्चालकहरुले सरकारसँग माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस