सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी जिल्लाबाट भेन्टिलेटर फिर्ता माग्ने निर्णय तत्काल सच्याऊः मौलिक जरोकिलो पार्टी

२०७८ वैशाख २५, ०१:४९ खबर संवाददाता

धनगढी: मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको कुराप्रति आपत्ति जनाएको छ। 

प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय भएको पार्टीको ठहर छ। 

‘कोरोना संक्रमणको महाव्याधीअघि पर्याप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुंडी समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय गरेको पार्टीको ठहर छ’ पार्टीकी प्रदेश सचिव सावित्री गिरीले शनिबार जारी गरेको विज्ञप्तिमा भनीएको छ। 

कोरोना संक्रमण समुदायमा फैलिँदै गएको हुँदा अत्यावश्यक जनशक्ति र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा उल्टै भेन्टिलेटर फिर्ता लैजानु मुर्खतापूर्ण कार्य भएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए।  

पार्टीले जिल्ला अस्पतालहरूबाट भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउँदै आवश्यक जनशक्तिको व्यवस्था गर्न माग गरेको छ। 

कमेन्ट लोड गर्नुस