सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोप प्राप्त गर्न कूटनीतिक प्रयास

२०७८ वैशाख २५, ०७:४३ रासस

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ। मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ। 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै ‘कोभिशिल्ड’ खोप खरीदका सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै विश्वको अहिलेको विषय परिस्थिति र ‘कोभिशिल्ड’ उत्पादक भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले आपूर्तिमा समस्या भएको जानकारी दिएको बताए। 

उनले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिए। नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरेपनि १० लाख मात्रा मात्र नेपाल आएको छ। सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो। 

विज्ञप्तिमा उनले नेपालले हाल ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने अवस्था ह नरहेको समेत जनाउनुभएको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतपछि नेपालले खोप अभियान सुरु गरेको थियो। डा गौतमका अनुसार नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो र तीन लाख ६२ हजार एक जनाले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन्।

कमेन्ट लोड गर्नुस