सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीले अक्सिजन खरिदमा आनाकानी गरेको आरोप

२०७८ वैशाख २३, ०१:१२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकाले अक्सिजन खरिदमा आनाकानी गरी जनस्वास्थ्यमाथि नै खेलवाड गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन्। 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला नगरपालिकाले भने कुनै चाँसो नै नदेखाएको आरोप उनीहरुको छ। नगरपालिकाले अक्सिजन खरिदका लागि कागजी निर्णय गरेको भएपनि अहिलेसम्म त्यसका लागि कुनै पहल नै नगरिएको बताइएको छ। 

केही दिनअघि मात्रै नगरपालिकाको वडा नम्बर १ का कोरोना संक्रमित ७० वर्षीय वृद्धले अक्सिजन अभावका कारण ज्यान गुमाएपछि स्थानीयमा कोरोनाको त्रास झनै बढेको पाइएको छ। यसवर्ष बेलौरीमा ५० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको बताइएको छ। 

मंललबार मात्रै बेलौरीको इसान मेमोरियल अस्पतालमा कार्यरत दुई चिकित्सकसहित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, एक जना जनप्रतिनिधीसहित १८ जनामा एकैपटक कोरोना देखिएको थियो। यसरी कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गइरहेको अवस्थामा नगरपालिका मुकदर्शक बनेर बसेको आरोप लगाइएको छ।

उता नगरपालिकाकी सूचना अधिकारी सुशीला लेखकले भने अक्सिजन सिलिन्डर नपाएर ढिला भएको बताएकी छन्। उनका अनुसार आइतबार काठमाडौंबाट २० सिलिण्डर अक्सिजन बेलौरी आइपुग्ने भएको छ। “हामीले ५० सिलिण्डर अक्सिजन माग गरेका थियौँ तर माग अनुसार पाउन नसकिएपछि २० सिलिण्डर आइतबार आइपुग्ने भएको छ,” उनले भनिन्। 

अहिले बेलौरीको अस्थायी कोरोना अस्पतालमा अक्सिजन सपोर्टमा एक जना बिरामीको उपचार भइरहेको सूचना अधिकारी लेखकले बताइन्।

कमेन्ट लोड गर्नुस