सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अक्सिजनको कालोबजारी बढ्यो, अमित ड्रग्स हाउसले ६५० थान सिलिण्डर लुकाइएको फेला

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २१, १०:१५ खबर संवाददाता

धनगढीः धनगढीको अमित ड्रग्स हाउसले ठूलो संख्यामा भरिएको तथा खाली सिलिण्डर लुकाइएको अवस्थामा फेला पारिएको छ।

बजारमा ग्यास तथा सिलिण्डरको चरम अभाव सिर्जना भएको बेला अमित ड्रग्स हाउसले ठूलो संख्यामा लुकाइएको अवस्थामा फेला परेको हो।

कोरोना संक्रमितहरु अक्सिजन नपाएर ज्यान गुमारहेको भन्दै सेती प्रादेशिक अस्पतालले सिलिण्डर खाली भएपनि बुझाउन सार्वजनिक अपिल गरेको छ। भने विभिन्न संघ सस्थाहरुले सहयोगमा जुटेका थिए।

सोमबार मात्रै ह्युमानिटी फाण्डेसन र मंगलबार धनगढीका विभिन्न व्यवसायीहरुले खाली सिलिण्डर अस्पताललाई बुझाएको छन्।

तर सो अमित ड्रग्स हाउसले महामारीको मौका छोपी व्यक्तिहरुलाई समेत बिक्री वितरण गर्ने उदेश्यका साथ लुकाइएको खुल्नमा आएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कैलाली तथा जिल्ला प्रहरी कैलालीको टोलीले मंगलबार राति ८ बजे सो अमित ड्रग्स हाउसको स्थलगत अनुगमन गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको नेतृत्वमा प्रहरी टोलीले सो अमित ड्रग्स हाउसको निरीक्षण गरेको छ।

प्रहरी निरीक्षक चौधरीको अनुसार अमित ड्रग्स हाउसमा हाल ६५० थान खाली सिलिण्डर रहेको दिनेशखबरलाई बताए। त्यस्तै स्रोतका अनुसार भने सो अमित ड्रग्स हाउसमा ४८ थान अक्सिजन भरिएको सिलिण्डर समेत रहेको बताइएको छ।

कालोबजारीको आशंकामा अमित ड्रग्स हाउसमा पुगेको प्रहरीलाई सञ्चालकले झुक्याएको समेत स्रोतको दाबी छ। सञ्चालकलाई उदृत गर्दै प्रहरी निरीक्षक चौधरीले सो अमित ड्रग्स हाउस ग्यास डिलरको रुपमा रहेको र प्रदेशको विभिन्न अस्पतालमा वितरण गर्दै आएको जिकिर गरे। 

अमित ड्रग्स हाउस सरकारी कागजात किर्ते गरेको अभियोगमा धरौटीमा रिहा भएका धनगढीका औषधी व्यवसायी दुष्यान्त बस्नेतको रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस