सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्तरीको सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध

२०७८ वैशाख २१, ०२:३२ रासस

जलेश्वर: महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ।

कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ। अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ।

जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन। 

महोत्तरीमा करीब ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ। जिल्लामा तीनवटा भन्सार नाका र आठवटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटाहरु रहेका छन्। यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छै। यसले महोत्तरीमा कोभिड–१९ महामारीको सङ्क्रमण थप बढाउने जोखिम देखिएको छ। 

कमेन्ट लोड गर्नुस