सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानसभा सदस्य खड्काको निधन

। फोटो स्रोत ।
२०७८ वैशाख २०, ०७:४६ रासस

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको निधन भएको छ। पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य थिए। पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए।

पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गरेका थिए। विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित उनले पाँच वर्ष काम गरेका थिए।

खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बनाइएको थियो।

खड्काले भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताए।

संविधान लेखनमा पनि उनको उल्लेखनीय योगदान रहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस