सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एकै दिनमा झण्डै चार लाख कोरोना सङ्क्रमित थपिए

२०७८ वैशाख १९, ०४:४५ रासस

नयाँ दिल्ली: भारतमा कोरोना भाइरसबाट थप झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको हो। यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए। आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो।  

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। 

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ। -एएनआई
 

कमेन्ट लोड गर्नुस