सुदूर नेपाललाई विश्वसँग जोड्दै

संशोधन होला त, सेतीकोे ‘सेटिङ’मा बनेको ‘एमआरआई’ खरिदको ‘स्फेसिफिकेसन’ ?

महामारीमा बेथिति

२०७८ वैशाख १७, ०७:१२ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीको बैशाख १४ गते सार्वजनिक भएको बोलपत्र विवादित बनेपछि अस्पतालले छलफल थालेको छ। अस्पताल प्रशासनका अनुसार बिहीवार छलफल भएको हो। 

बोलपत्रमा ३ वर्ष काम गरेको, ३ पटक सोही प्रकारको उपकरण नेपालमा आपुर्ति गरेको आपूर्तिकर्तालाई मात्र एमआरआई उपकरण खरिदको बोलपत्र हाल्न दिने गरि शर्त राखिएकोपछि विवादित बनेको थियो। बोलपत्रमा अस्पतालले सो शर्त राखेपछि आर्थिक चलखेलको आशंका गरिएको थियो। त्यसपछि अस्पताल प्रशासनले छलफल थालेको बताइएको हो।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेका अनुसार उनले आर्थिक शाखाका कर्मचारीसँग छलफल गरेका हुन्। सो बुँदामा देखिएको विवादका बिषयमा आपूर्तिकर्तासँग समेत छलफल गर्ने उनले बताए। बोलपत्रका लागि सूचना मात्र सार्वजनिक गरिएको भन्दै, भने,“तपाईले घेरा लगाउनु भएको तलको ३ बुँदामा के भनिएको छ भने, ‛एउटा सामान चाहीँ कम्तीमा सप्लार्यस गरेको हुुनपर्दछ।’ भनेको छ। यो ओपन टेन्डर हो। धेरैले प्रतिस्पर्धा गर्न पाउने भए। लक  भएन। धेरै अन्तर्राष्ट्रिय कम्पनीहरु आउने भए। नेश्नल बिट हैन, अन्तर्राष्ट्रिय बिटको। अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रतिस्पर्धा गर्ने भए। तिनीहरुले नेपालमा कम्तीमा एउटा यूनिट सप्लाई गरेको हुुनुपर्ने पर्ने, ३ वर्षको अनुभव भएको हुनुपर्ने, यो आर्थिक नियमले पनि भनेको कुराहरु समावेश गरिएको हो।”

उनले थपे, “यो त हामीले सूचना मात्र निकालेका हौ। ३० औ दिनमा प्रि–बिट मिटिङ हुन्छ। टेन्डरमा इच्छुकहरु आउछन्। उहाँहरुले हामीलाई गुनासो भन्छन् केही सुधार गर्नुपर्ने भए। ठूलो खालको रहेछ भने हामीले त्यो बेला पनि कन्सिडर गर्छाै। अप्लाइ चै फाइनल मान्दैनन्। यो चै प्राम्भिक रुप हो। नियम अनुसार गर्ने कुरा भए। त्यो बेला पनि धेरै कुराहरु सुधार गर्ने वा नगर्ने भन्ने हुन्छ।”

सुदूरपश्चिममा लामो समयदेखि औषधी तथा उपकरणको ठेक्का हत्याउँदै आएका धनगढीका औषधी व्यवसायी दुष्यान्त बस्नेतको फर्मलाई ठेक्का दिन सेटिङमै बोलपत्र तयार भएको आशंका अन्य आपुर्तिकर्ताहरुले गरेका हुन्। व्यवसायी बस्नेतको अमित मेडिसिन डिष्टीब्युटरर्सलगायत फर्मलाई एमआरआई उपकरण खरिदको ठेक्का दिन सेती प्रादेशिक अस्पतालमा ४ करोडको लेनदेन भएको र लेनदेन गरि स्फेसिफिकेसन तयार गरेको आशंका अन्य आपुर्तिकर्ताहरुले गरेका बेला खरिद ईकाईका प्रमुख डाक्टर खगेन्द्र भट्टले आर्थिक लेनदेन नभएको दिनेश खबरसँग दाबी गरे। 

सरकारी कागजात किर्ते गरेको अभियोग लागेका धनगढीका औषधी व्यवसायी दुष्यन्त बस्नेतलाई जिल्ला अदालत कैलालीले २०७६ गते एक लाख १० हजार धरौटीमा रिहा गरेको थियो। 

अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालय कैलालीबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र गेटा आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको  हस्ताक्षर रहेको फेला परेको थियो।  

सुदूरपश्चिम प्रदेश सरकारको ११ करोड ९९ लाख र झण्डै २ करोड अन्य गरि १४ करोडमा उक्त उपकरण खरिदको तयारी थालिएको अस्पतालले बताएको छ। तर अस्पतालले भने १३ करोड ३२ लाख रुपैयाँमा एमआरआई उपकरण जडानका लागि बोलपत्र आह्वान गरेको छ।

सम्बन्धित समाचार

‘एमआरआई’ खरिद गर्न सेतीले ‘सेटिङ’मै बोलपत्र गरेको आशंका, किर्ते मुद्दा लागेकालाई नै ठेक्का पार्ने चलखेल !


 

कमेन्ट लोड गर्नुस