सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएकाहरु सोझै सुदूरका गाउँगाउँमा, नगरपालिका महासंघका अध्यक्ष भन्छन्, ‘हामी विवश छौँ’

२०७८ वैशाख १४, ०६:५७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढी : संक्रमितको दर चार गुणाले बढेपछि कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा लगाएको छ। 

तर भारतमा भाइरस फैलने क्रम तीव्र बन्दै गर्दा नेपालमा पनि सरकारीदेखि सामुदायिक तहमा लापरवाही भइरहेको पाइएको छ। खुला सीमानाकाहरुमा पूरै निगरानी हुन नसक्दा सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह बन्न सक्ने सम्भावना बढेको छ। 

१ उपमहानगरपालिका ३३ नगरपालिका तथा ५४ गाउँपालिका रहेको सुदूरपश्चिम प्रदेशभित्र कोरोना महामारीको रोकथाम गर्न सीमा सम्बन्ध जोडिएका क्षेत्रहरुमै लापरवाही भएकाले स्थानीय तहहरुलाई संक्रमित पहिचान र व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ। 

सिमानाकाबाट आउनेहरुको व्यवस्थापनका लागि क्वारेन्टिन बनाउने भनेपनि प्रदेश सरकारले रकम नै उपलब्ध गराउन नसक्दा समस्या भएको नगरपालिका महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष केशवबहादुर चन्दले बताए। 

पहाडका ७ जिल्लामा ७ सय बेडमा कोरोना संक्रमितका विरामी राख्न सक्ने व्यवस्था गर्न सकिने भन्दै उनले भने, “मुख्यमन्त्रीसंग पनि यो विषयमा कुरा गरेका हौँ। हेलचक्य्राइँ गरे, हामी विवश छौँ।”

बढ्दो हेलचक्य्राइँ र सरकारको अदूरदर्शिताका कारण दोस्रो लहर पहिलोभन्दा खराब हुँदै गएको अधिकारीहरु बताउँछन्। 

सीमा क्षेत्रमा बढेको लापरवाहीकै कारण यतिवेला अस्पतालहरू संक्रमितका कारण भरिभराउ देखिएका छन्। 

भारतमा महामारी फैलिइसकेको अवस्थामा समेत सिमानामा स्वास्थ्य जाँच र आइसोलेशन लगायतको व्यवस्था अझै गरिएको छैन। 

सरकारले सीमामा जाँच गर्ने निर्णय गरे पनि अझै ती क्षेत्रमा नाम मात्रको जाँच हुने गरेको छ। सीमा क्षेत्रमा जाँच नगरेरै पठाउँदा आफूहरुलाई भिड व्यवस्थापन गर्न समस्या भएको गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त ओझाले बताए। 

उनले भने, “संघिय र प्रदेश सरकारले सिमानाकाहरुमा पहिले चेकजाँच गरेर सबै स्थानियतहसँग समन्वय गर्नुपर्ने हो, तर त्यस्तो भएको छैन्। पूर्व तयारी पनि केही छैन। बजेट अभावका कारणले पनि समस्या भएको छ।”  
तत्कालको समस्या भनेको अक्सिजन, भेन्टिलेटर, अस्पतालको बेड आदिको जोहो गर्नु हो। 

तत्काल अस्थायी अस्पतालहरूको व्यवस्था गरेर संक्रमितहरु सीमा नाकाबाट गाउँगाउँ पुग्नबाट रोक्न, प्रदेश र स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने स्वास्थ्य चिकित्सकहरुको सल्लाह छ। 

कोभिडको भयावह अवस्था आउन नदिन कैलाली कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्द गर्नुका साथै रात्रिकालिन सवै व्यवसाय बन्द गर्न प्रशासनले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म अति आवश्यकबाहेकका सबै काम बन्द गरेको उनले बताए। 

विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन् नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन। 

प्रदेश सरकारले कोरोना नियन्त्रण, व्यवस्थापन र आवश्यक तयारीका विषयमा नागरिकलाई सुसूचित गर्नुभन्दा जिम्मेवारीबाट नै भाग्ने हो भने स्थिति अझै भयावह बन्ने निश्चित छ।

कमेन्ट लोड गर्नुस