सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुुल निमार्णको काम गरिरहेका दुई मजदुर नदिमा खसेर बेपत्ता

२०७८ वैशाख १२, ०६:११ रासस

चितवन: पुुल निमार्णको काम गरिरहेका दुई जना मजदुर त्रिशूली नदिमा खसेर बेपत्ता भएका छन्।  

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका दुई जना मजदुर त्रिशूलीमा खसेर बेपत्ता भएका हुन भने तीन जनाको उद्धार गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए। दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए।

उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ लगिएको छ। बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 


निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी पाएको बताए। घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ।

ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस