सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार मसान्तसम्म ४ हजार मुद्दा किनारा लगाइने

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ६, ०५:४५ रासस

गण्डकी: सत्य निरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७ सय ८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ।

आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवम् अन्तरक्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए।
आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको बताउँदै उनले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे।

आयोगले ७ सय ४७ मुद्दामा निर्णय गरिसकेको बताउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गरे। 

द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको बताउँदै उनले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवा सुविधाको सुनिश्चितका लागि पनि पहल गरिएको बताए।

भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ। 

आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानबिन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए।

आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्व पीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको बताउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानबिनसहित निष्कर्षमा पुगिने बताए। 

कमेन्ट लोड गर्नुस