सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै कैलालीमा रहेको मेरो घर जलेर सखाप हुने !

२०७८ वैशाख ६, ०४:०४

जीवन साउँद, कैलाली: स्थान कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया कोलपुर, टोल नम्बर ४। सोमबार बिहान १ः४० बजेकाे थियाे। घरका सबै सदस्य गहिरो निन्द्रामा मस्त थियाैं।

चुलीको फेदबाट चौपाया कराएको आवाज कानमा गुन्जियो। म निन्द्रामा थिए।  सपना हो कि विपना केहिपनि छुट्याउन सकेन। त्यतिबेला ज्या(आमा)ले मेरो नाम बोलाउदै कराउन थाल्नुभयो। ३/४ पटक जोडले कराएपछि मेरो निन्द्रा खुल्यो। म बिउँझिए।  मैले हतारमा चलेको रहेको पंखा बन्द गरे। 

पंखा बन्द गरेपछि कोठाबाट हतार–हतार बाहिर निस्किन खोजे। तर ढोकाको चुक्कुल पाएन। बल्लतल्ल ढोका खुल्यो। बाहिर निस्केर ‘हजुर’ भनेर सम्बोधन गर्न नपाउदै चिच्याहट र पिताजी (बावा) आत्तिनु भएको देखे। उहाँ रुदै पानी बोक्न भन्दै हुनुहुन्थ्यो। 

बुवाको त्यो अनुहार देखेर म पनि दुःखी भए। उहाँ नल्का पेल्दै हुनुहुन्यो। उहाँ रुदै भाडाकुडा ल्याउन भन्दै हुनुहुन्थ्यो। मैले वास्तविक कुरो अझै पनि थाहा पाएको थिएन। बावाले नल्काको पानी बोक भनेपछि थाहा भयो घरमा आगो लागेको रहेछ। 

बाबाले हड्बडाउदो स्वरमा भन्नू भयो ‘छिटो बोक’। नल्का छेउ पुग्दा बल्ल थाहा पाए घरको पछाडीतिर जोडिएको गोठमा आगो लागेको रहेछ। 

अनि एकाएक भक्कानो फुटेझै झस्किए। पछाडीतिर रहेको गोठबाट आगोको झिल्का आकासतिर जाँदै जमिन उज्यालो त बनाएको थियो तर मन भने कालो बादलले पुरै छोपिसकेको थियो।

आँखाभरी आएका आशुका थोपा परेलीसँग हत्केला जोड्ने मेरा हात आँखा छेउ पुगिसकेका थिए। मेरो घरको मोटर बिग्रिएका कारण म छिमेकी नारायण भुसालको घरमा पुगे। त्यहाँ उनकी पत्नी नल्कासँग जोडिएको मोटरका पाइपहरु तान्दै थिइन्।  ती पाइपहरु लतार्दै मैले आफ्नो गोठसम्म त पुर्याए तर गोठमा लागेको आगोको मात्रा बढीसकेकाले उक्त पानीले केही पनि सफलता दिएन। 

गोठभित्र रहेका चौपायाहरु आफ्नो स्थान छोडेर भौतारिँदै थिए। घरबाट हँसिया लिएर चौपायाँको घाँटीमा बाँधिएका डोरी(गलेउ) काटे। तर भैँसीको गलेउ सहजै कटिएन। उक्त गलेउ काट्दै गर्दा आगोको रापले मेरो दाहिने हातको कुम जल्यो। 

तर आफ्नो निरन्तरता मैले छाडिन। गलेउ काटिसकेपछि भैंसी गोठबाट भाग्दै गरेको परैसम्म देख्न सकिन्थ्यो। आगोको मात्रा अलि धेरै भइसकेको थियो। 

छिमेकीको घरको मोटरको पानीले केही सफलता दिन नसकेको कारण नजिकै रहेको कृषि मोटरतिर मेरो दिमाग गयो। घरमा लम्पसार पारिएका पाइपहरु तान्नमा नातामा काका पर्ने छिमेकी ‘मालिक’ भनेर चिनिने व्यक्तिले साथ दिए। 

उहाँसँगको सहकार्यमा म मोटर चलाउन सफल भए।  तर गोठ पूर्णरुप जलिसकेको थियो। केहिबेरको मिहेनतपछि छिमेकीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउन सकियो।  गोठमा लागेका आगो निभाउन अबेर गरेको भए, झण्डै मेरो घर जलेर सखाप हुने थियो तर सल्किन पाएन। तर छेउमै जोडिएको नारायण भुसालको गोठमा रहेका पराल लगायत राखिएका सम्पूर्ण खाद्यान्न जलेर नस्ट भए। 

त्यो बेला दमकल तथा प्रहरी सबैलाई खबर गरिएको थियो। तर मध्यरात भएको कारण अलि ढिला भयो। करिब ३ बजे मात्रै प्रहरी घटनास्थलमा पुगे। उनीहरुलाई हाम्रो दुखेसो पोख्यौं तर त्यहाँबाट सरल उत्तर आयो ‘भोलि प्रशासनिक रुपमा गएर सबै कुराको छिनोफानो गर्नु।’

सम्पूर्ण छिमेकीहरुलाई धन्यवाद, रातको समयमा त्यो सहयोग र साथ दिनुभएकोमा। 

कमेन्ट लोड गर्नुस