सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्त कमैया शिविर गेटीमा २० वर्षपछि विजुली जडान

शिविरवासीका लागि एउटा मात्र शौचालय हुँदा लाइन बस्नुपर्ने वाध्यता

२०७८ वैशाख ६, ११:१२

वीरेन्द्र भट्ट/ धनगढीः २०५८ सालदेखि बसोवास गर्दै आएका मुक्त कमैया शिविर गेटीमा २० वर्षपछि विजुली पुगेको छ। याक नेपाल धनगढी, खाद्य अधिकार सञ्जाल गोदावरी र गोदावरी नगरपालिका–५ को पहलमा गोदावरी नगरपालिकाले मुक्त कमैया शिविरका ३५ घरपरिवारलाई सव–मिटर र तीन सय मिटर लामो सर्भिस तार उपलब्ध गराएर आइतवारदेखि विद्युत् जडानको काम सुरु गरिएको हो। वर्षौदेखि विद्यूत्को मार खेप्दै आएका शिविरवासीलाई विद्यूत्को समस्या टर्ने देखिएपनि शौचालय र खानेपानीको समस्या भने अझै समाधान हुन सकेको छैन्।

स्वामी शंकराचार्यको नाममा रहेको खाली जमिन कब्जा गरेर मुक्त कमैया शिविर नै बसेपछि हाल गेटा मेडिकल कलेजको स्वामित्वकोमा रहेको उक्त जमिन खाली गर्न समस्या भएको हो। चार विघा जमिन कब्जा गरेर २० वर्षदेखि ३५ मुक्त कमैया परिवार बस्दै आएका छन्। मेडिकल कलेजको नाममा जमिन नामसारी भएपछि शिविरभित्र कुनै पनि पक्की भौतिक संरचना बनाउन नपाउँने गरी मेडिकल कलेज र प्रशासनले निर्णय नै गरेकाले खानेपानी, विद्युत लगायत सुविधाबाट मुक्त कमैया परिवार विमुख हुनु परेको गोदावरी नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष कर्णसिंह बोहराले बताए।

मुक्त कमैया परिवारले अहिले सुकुम्बासी फारम भरेका छन्। शिविरवासीले वर्षौदेखि उपभोग गर्दै आएको जमिनमै वस्न पाउनुपर्ने माग गर्दै आएका छन् । ५ नम्वर वडाभित्रै उपयुक्त जमिन पाउनुपर्ने भन्दै मुक्त कमैया शिविर गेटीले संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।

शिविरवाहिर सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको शौचालयमा मुक्त कमैया परिवारले लाइन बसेर पालैपालो शौचालयको प्रयोग गर्नुपर्ने वाध्यता कायमै रहेको मुक्त कमैया शिविर गेटीकी उपाध्यक्ष ममतादेवी डगौराको गुनासो छ।

वार्षिक १२० जना एमबीबीएस चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको गेटा मेडिकल कलेजको क्षेत्राधिकारभित्र पर्ने उक्त जमिनलाई खाली गराएर कलेज प्रयोजनमा ल्याउनुपर्ने माग स्थानीयले गर्दै आएका छन्। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले भुमि आयोग, गोदावरी नगरपालिका र जिल्ला प्रशासनसँग छलफल नै गरी कमैया परिवारलाई उचित व्यवस्थापन गरेर जमिन खाली गराउन माग गरिएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले जानकारी गराए।

 

कमेन्ट लोड गर्नुस