सुदूर नेपाललाई विश्वसँग जोड्दै

“महामारी फैलियो, सावधानी छैन”

२०७८ वैशाख ५, ०८:४२ रासस

चितवन: जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन।

विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन्। 
 
सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन्।

ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन। 
 
भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताए।

उनले भने, “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन।”

यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उहाँले चेतावनी दिए।

उनले भने, “अवस्था जटिल हुने देखिन्छ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर तिपय ढुक्क भएको बताउँदै उनले भने, “यस्तो व्यक्तिमा पनि सङ्क्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन्।”
 
सामान्यतया सङ्क्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उनले जानकारी दिए। उनले भने, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन्।

यो निकै जोखिमपूर्ण छ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उनले यस्तै अवस्था रहे आगामी दिन स्थीति भयावह हुने बताए। 
 
भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिए।

जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उनको भनाइ छ।

उनले अगाडि भने, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ।”
 
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताए। स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उनले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गरे।

उनले भने, “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले सङ्क्रमण देखिएको छ। यो दिनहुँ बढ्ने अवस्थामा छ।”
 
व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उनले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गरे।

भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ। 
 
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ सङ्क्रमित भएकोमा छ हजार ८१८ निको भएका छन्।

हाल सङ्क्रमित १२७ रहेका छन्। तीमध्ये २६ जना अस्पतालमा छन् भने १०१ होम आइसोलेशनमा रहेका छन्। हालसम्म जिल्लाका ११४ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस