सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरी चौकी भवन निर्माण

२०७८ वैशाख ५, ११:१२ रासस

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा अस्थायी प्रहरी पोष्ट (प्रहरी चौकी)को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो ।  

प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको भवनमा कार्यालय कक्ष, ब्यारेक, शौचालय, स्नानघरलगायत छन् । सुदूरपश्चि प्रदेशसभा सदस्य महेशदत्त जोशीले भवन निर्माणपछि प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सहज भएको बताए । 

प्रदेशसभा सदस्य जोशीले स्थायी प्रहरी चौकी स्थापनाका लागि स्तरवृद्धि गर्न सम्बन्धित निकायमा पहल गरिने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्की भवन निर्माण भएपछि स्तरीय सेवा दिन सहज भएको बताए ।
 

कमेन्ट लोड गर्नुस