सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर र मृत्युदर उच्च

२०७८ वैशाख ५, ०७:४४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च रहेको छ। 

पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै कडा लक्षण भएका विरामी थपिएका छन्। 

सुदूरपश्चिम प्रदेशमा २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। सुरुवाती केही महिनासम्म कोरोना संक्रमण दर उच्च रहयो। तर माघदेखि फागुन महिनामा संक्रमण दर घटेको थियो। चैतदेखि पुनः संक्रमण बढेको हो। नयाँ प्रकृतिको कोरोनासहित संक्रमण दर बढ्न थालेको हो। योसँगै मृत्यु दर पनि बढेको बताइएको छ। 

सामाजिक विकास मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा हालसम्म १४ हजार ३३२ जनामा पीसीआर पोजिटिभ देखिएको छ। जसमध्ये १४ हजार ५७ जना डिस्चार्ज भएका छन्। २ सय १६ जना संक्रिय विरामी छन्। भने ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, “अरु देशसँग तुलना गर्दा हाम्रो यहाँ न्यून हो। तर पहिले एउटै भेरियन्ट थियो। आजभोलि अर्को नयाँ युके भेरियन्ट आएको छ। संक्रमण दर पनि बढेको छ। त्यसैले अझ धेरै सजकता अप्नाउँन जरुरी छ।”

पछिल्लो ३ महिनायता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको छ। जुनक्रम बढ्दो रहेको अस्पतालले जनाएको छ। 

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अस्पतालमा सामान्य लक्षणका विरामीलाई भन्दा कडा र जटिल खाले लक्षण देखिने विरामीलाई मात्र भर्ना लिने गरेको बताए। पहिले भन्दा विरामीमा जटिल समस्या देखिएको र मृत्युदर पनि बढिरहेको श्रेष्ठले बताए।

गत फागुन १० गते कैलालीको गोदावरी नगरपालिका २ का ४४ वर्षीय पुरुषको मृत्यु भएको थियो। भने, चैत ३० गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष र कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको वैशाख ४ गते मृत्यु भएको हो। जुनक्रम बढ्दो रहेकोले सावधानी अप्नाउन समेत आग्रह गरिएको छ। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले पछिल्लो समय कोरोनाप्रति वेवास्ता बढेको बताउँदै सामाििजक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्नेलगायतका सुरक्षाका मापदण्ड प्रयोगमा कमी आएको बताए। रोकथामको लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने औल्याए।  

कमेन्ट लोड गर्नुस