सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा मुक्त कमलरीले बुझाए १४ बुदे ज्ञापनपत्र

२०७८ वैशाख ३, ०९:३० खबर संवाददाता

कैलालीः मुक्त कमलरीसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।

कमलरीका समस्या समाधान र सम्बोधन गर्नुपर्ने माग सहित मुक्त कमलरी विकास मञ्च नगर समितिले १४ बुदे ज्ञापनपत्र गौरीगंगा नगरपालिकामा बुझाएको हो।

सरकारले सम्झौता कर्यान्वयन नगर्दा कमलरीहरूको अवस्था दयनीय र जटिल बन्दै गएको उल्लेख गर्दै नगरपालिका भित्र रहेका मुक्त कमलरीका समस्या समाधान गर्न प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई ज्ञापनपत्र बुझाइएको थियो।

मुक्त कमलरी नगर स्तरीय समिति गौरीगंगाका अध्यक्ष हिरा चौधरीले ज्ञापनपत्र बुझाउदै स्थानीय सरकार र सरोकारवाला निकायले संचालन गर्ने कमलरी लक्षित कार्यक्रमहरू थोरै समयका लागि आउने र सबै कमलरीहरूको पहुचमा नपुग्दा जीवनयापन तथा स्वरोजगारी सृजना गर्न समस्या भएको बताइन्।

गौरीगंगा नगरपालिकाले अगामी वर्ष ल्याउने बजेटमा कमलरीहरुका समस्या दिगो रूपमा समाधान र समावेश हुने आत्मानिर्भर केन्द्रीत निती तथा कार्यक्रम ल्याउनु पर्ने माग, विरोध कार्यक्रमका सहभागीले गरेका थिए।

मुक्तकमैया, मुक्तहलिया, सुकुम्बासी लगायतकाको पुनर्स्थापना भैरहँदा कमलरीहरूसँग भएको सहमती अनुसार पुनस्थापना हुन सकेको छैन।

शिक्षा, सीप, रोजगार तथा जमिनसहितको पुनर्स्थापना, हत्या गरिएका र कुमारी आमा रहेका कमलरीहरुलाई उचित न्याय, बेपत्ता कमलरिको खोजी एवम् छुटेका कमलरीहरुको नाम समावेस हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नगरपालिकामा ज्ञापनपत्र बुझाउनु अघि "प्राविधिक शिक्षाको व्यवस्था गर, लोकसेवा तयारी कक्षा व्यवस्था गर, बेपत्ता कमलरीको खोजि गर, हत्या गरिएका कमलरीलाई न्याय दे" लगायतका नाराबाजी गर्दै चौमाला बजारको पूर्वपश्चिम राजमार्गमा विरोध ऱ्याली प्रदर्शन गरिएको थियो।

मुक्त कमलरीहरुले नगरपालिकाको कार्यालय अगाडी केहिबेर विरोध स्वरुप धर्ना दिएका थिए।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले मुक्त कमलरीहरुका समस्या समाधानका गर्न नगरपालिकाले सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

अधिकृत जोशीले वडा(वडाबाट छनोट भएर आउने अगामी वर्षका योजनामा कमलरीका समस्या समेटिने विश्वास व्यक्त गरेका छन्।

मुक्त कमलरी विकास मन्च कैलालीको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका कमलरी तथा कमलरी परिवारका सदस्यहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस