सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका मालपोत अधिकृत जोशी २४ हजार घुससहित पक्राउ, मुद्दा दायर

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र ३१, ०५:२० खबर संवाददाता

कञ्चनपुर: भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको उनलाई २४ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको थियो। 

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आरोपपत्र दायर गरिएकोबारे जानकारी गराएका छन्।

‘भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निज लोकराज जोशीलाई सेवाग्राहीबाट २४,०००।– (चौबीस हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराईदिने क्रममा २४,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज लोकराज जोशीलाई बिगो रु. २४,०००।– (चौबीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) अनुसारको जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’ विज्ञप्तिमा उल्लेख छ।

 

 

कमेन्ट लोड गर्नुस