सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई कारबाहीको लागि सिफारिस, सांसद पद रिक्त हुने

२०७७ चैत्र ३०, ०४:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई कारबाहीको लागि सिफारिस गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पार्टीका नेता एवं पूर्वमन्त्री बोहरालाई कारवाहीका लागि सिफारिस गरेको हो। उनी अछाम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

तर उनी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले जानकारी दिए। सचिव चौधरीले चैत ३० गते कारवाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरेको बताए।

बोहरा माओवादीमा रहँदा केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहेका थिए भने उनी नेकपामा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए। उनी ओली नेतृत्व नेकपा एमालेको केन्द्रीय सदस्यमा समेत मनोनित भएका पूर्वमन्त्री बोहराले गत पुस २२ गते पदबाट राजीनामा दिएका थिए।

कारवाही स्वीकृत भएपछि उनको प्रदेश सभा सदस्य पद रिक्त हुने कानुनी व्यवस्था छ। प्रदेश सभा सदस्यको कार्य अवधि झै २ वर्ष बाँकी रहेकोले पद पुर्तिको लागि उपनिर्वाचन हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस