सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेको ‘रडाको श्रृंखला’, कारवाहीको होडबाजी, माधव समूहलाई दार्चुलामा धक्का !

२०७७ चैत्र ३०, ०९:०५ खबर संवाददाता

धनगढीः नेकपा एमालेको विवाद सुदूरपश्चिममा उत्कर्षमा पुगेको छ। एमालेभित्रको एकअर्काको परस्पर विरोधी देखिएको केपी ओली समूह र माधव समूहबीचको आपसी झगडा चुलिएको हो।

४ महिनायता ती समूहबीच एक अर्काविरुद्ध नाराबाजी, हातहालाहाल, पार्टी कार्यालय तथा सम्पत्तिमाथि कब्जा, एकअर्कालाई कारवाहीदेखि चेतावनीसम्मको श्रृंखला घटेका छन्। 

साविक नेकपा विवादकै बीच सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले २०७५ जेठ २ गते पूर्वकै अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रलाई फर्काएपछि एमालेभित्रको विवाद झनै पेचिलो बन्दै गएको हो।

विवादका श्रृंखला
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग र मध्यावधि निर्वाचन घोषणा गराए। केन्द्रदेखि जिल्लासम्म विवाद बढ्यो। त्यसयता एमालेको प्रदेश कार्यालय र जिल्ला कायालय सुरक्षा घेराभित्र रहेका हुन्। 

गत पुस ७ गते प्रधानमन्त्री केपी ओली निकट मानिने साविक नेकपा कैलाली अध्यक्ष रतन थापा समूहले धनगढीस्थित जिल्ला पार्टी कार्यालयमा ताला लगायो। लगत्तै सोही विषयलाई लिएर उक्त तालामाथि ताला साविक नेकपाको प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ताले लगाइदिए्।

यसैबीच साविक नेकपा सुदूरपश्चिम प्रदेश समितिको खाताबाट एक समूहले ३० लाख रुपैयाँ झिकिएको घटनाले पनि त्यसताका राजनीतिक माहोल तात्यो। नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका डा. भीम रावलको ठाडो निर्देशनमा पार्टी एकतापछि बनेको नेकपा प्रदेश समिति अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख रुपैयाँ झिकिएको थियो।

सर्वोच्च अदालतको फैसलापछि गत फागुन २७ गते साविक नेकपा प्रदेश कार्यालयमा २ पक्षबीच झडप समेत भयो।

नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखिएपछि झडप भएको थियो। पार्टी एकिकरण हुँदाका बखत नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा भीम रावल रहेपनि ओली समूहले इन्चार्जका रुपमा भट्टलाई अघि सारेको छ। सोही क्रममा भट्टको ‘नेम प्लेट’ राखेपछि माधव समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेपछि झडप भएको हो।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि निलम्बन गरेको छ।

यता भीम रावलले भने सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी गठन गरेका छन्। नेता रावलले नेकपा एमालेका प्रदेश अध्यक्ष रहेका कर्ण बहादुर थापालाई अनुशासनको कारवाहीका लागि समेत सिफारिस गरेको छ। 

यतिबेला २ पक्षले एकअर्कालाई खुल्याउने रणनीतिमा लागेका छन्। एमाले ओली पक्षले भीम रावललाई नै अहिले पार्टीले नचिन्ने र कारवाहीको कुनै औचित्य नभएको बताएको छ।

प्रदेश अध्यक्ष थापाले पार्टीको पदीय हैसियतमै नरहेको व्यक्तिले कारवाही गरे भन्नु हस्यास्पद रहेको र गैरकानुनी रहेको बताए।

नेता रावलले भने पार्टी अध्यक्ष केपी शर्मा ओली नै अवैधानिक रहेको टिप्पणी गर्दै हिडेका छन्।

समानान्तर कमिटी
नेकपा(एमाले) खनाल नेपाल समूहले सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा जिल्ला स्तरको समानान्तर कमिटी बनाएको छ। कैलाली जिल्लामा अध्यक्षको जिम्मेवारी दीर्घबहादुर सोडारीलाई दिइएको छ। 

कञ्चनपुरमा अध्यक्षको जिम्मेवारी तारा लामा तामाङलाई दिइएको छ। डडेल्धुरामा डा.तारा जोशी, बाजुरामा गगनबहादुर रावल, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा दीलबहादुर सिंहलाई अध्यक्षको जिम्मेवारी दिएको छ।

तर दार्चुला जिल्लामा भने गठन गर्न नसकेको हो।
 

कमेन्ट लोड गर्नुस