सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आज रातिदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा

२०७७ चैत्र १०, ०९:१७ खबर संवाददाता

कञ्चनपुरः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ।

भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको हो।

मङ्गलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले कडाई गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ। यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ।

गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ। यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ। यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ।

त्यसैगरी अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी गर्न पाउने भनिएको छ। 

त्यसैगरी सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने लगायतका आदेश जारी गरिएको छ।

यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस