सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोच परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्रीभट्ट

२०७७ फाल्गुन २५, ०५:५७ रासस

गोदावरीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा न्यूनीकरणका लागि सबैले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन। 

एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनले महिलाप्रतिको चिन्तन रूपान्तरण हुनुपर्ने बताए। महिलामाथि विभिन्न हिंसा हुनु कानूनको अभावले नभएको बताउँदै उनले भने, “महिला र पुरुषको समान अधिकार र समान दायित्व हुन आवश्यक छ।” 

उनले राज्य व्यवस्था परिवर्तनका लागि होस् वा अधिकार प्राप्तिका लागि होस्, जुनसुकै आन्दोलनमा नेपाली महिलाको विशिष्ट भूमिका रहेको बताए। महिलाले निर्वाह गरेको भूमिकाको सबैले सम्मान गर्नुपर्ने र उनीहरूको सपनालाई सकार पार्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो। त्यसका लागि सबै एकबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनले बताए। 

महिलाका लागि बनाइएका कानूनको प्रभावकारी कार्यान्वयनको दायित्व सबैको भएकाले कानूनले महिलालाई दिएको अधिकार सुनिश्चित गर्न आवश्यक उनको भनाइ थियो। उनले छाउपडी प्रथा, घरेलु हिंसा, सामाजिक हिंसा रोक्नका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

महिला हिंसासम्बन्धी घटना देशैभरि घटे पनि केही त्यस्ता प्रतिनिधि घटनाका कारण सुदूरपश्चिम प्रदेशमा महिला हिंसासम्बन्धी घटना अलि बढी घटेको देखिएको मुख्यमन्त्रीको भनाइ थियो। उनले प्रदेशमा महिला हिंसासम्बन्धी घटना न्यूनीकरणका लागि कानून र योजना बनाउने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस