सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राकृतिक ताल अतिक्रमण गरि ६४ पिलरको घर बनाइँदै

२०७७ फाल्गुन १६, ०४:४२ खबर संवाददाता

धनगढीः धनगढीमा प्राकृतिक ताल अतिक्रमण गरेर भौतिक संरचना बनाउने काम भइरहेको पाइएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को देवरियामा रहेको सडुवा ताल अतिक्रमण गरेर घर बनाउन ६४ वटा पिलर ठड्याइएको पाईएको छ। 

स्थानीय जयलाल राना सहितका तीन जनाले ताल अतिक्रमण गरेर भौतिक संरचना बनाइरहेको पाइएको हो। वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले आफूले पनि प्राकृतिक ताल अतिक्रमण गरेर संरचना बनाइरहेको बारेमा आइतबार थाहा पाएको दिनेशखबरलाई बताए। 

उनले धनगढी उप–महानगरपालिकाले तालको अतिक्रमण गरि भइरहेको संचरना निर्माणको कामलाई रोक्न निर्देशन दिएको बताउँदै सोहीअनुसार अघि बढेको बताए। 

उपमहानगरपालिकाले संरचना निर्माण गरिरहेका स्थानीय जयलाल रानालाई पत्र पठाउँदै सार्वजनिक ताल अतिक्रमण गरि पक्की घर बनाइरहेको पाइएकाले यथाशिघ्र काम रोक्का गर्न निर्देशन दिएको छ। 

‘तपाई समेतका तीन जनाले देवरीया टोलमा कित्ता नम्बर ४ को सार्वजनिक ताल अतिक्रमण गरि पक्की घर निर्माण गरिराख्नु भएकोले उक्त निर्माण कार्य यथाशिघ्र रोक्का गरि सार्वजनिक ताल खाली गर्न हुन जानकारी गराइन्छ,’  डिभिजन इन्जिनीयरले रानाको नाममा पठाएको पत्रमा भनिएको छ, ‘अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०६४ बमोजिम कारवाही भइजाने व्यहोरा सूचित गरिन्छ।’

संरचना निर्माण गरिरहेका भनिएका व्यक्तिहरुसँग दिनेशखबरले सम्पर्क गर्ने कोसिस गरेपनि प्रयास सफल हुन सकेन। 

धनगढीमा खोलानाला अतिक्रमण भइरहेका बेला प्राकृतिक ताल समेत खुलेआम अतिक्रमण गरि अहिले पनि निजी संरचना बनाउने क्रम नरोकिएको हो। पहिलो कार्यपालिका बैठकबाटै सार्वजनिक जग्गाको अतिक्रमण हटाउने निर्णय गरेका जनप्रतिनिधि साढे तीन वर्षे कार्यकाल पुग्दा समेत निर्णय कार्यान्वयन गराउन विफल देखिएका छन्। 

धनगढीको कैलाली नाला, सुकुटी नालामा अतिक्रमण गर्ने क्रम समेत अझै रोकिन नसकेको गुनासो गरिएको छ। 

सम्बन्धित समाचार 

धनगढीमा सामान्य वर्षामा डुबान,जनप्रतिनिधिको अतिक्रमण हटाउ अभियान हल्ला मात्रै !

धनगढीमा खोलानाला अतिक्रमण जारी

धनगढी उप–महानगरपालिका खोलानालाको अतिक्रमण हटाउन उदासिन

धनगढी उप–महानगरपालिका खोलानालाको अतिक्रमण हटाउने निर्णय कार्यान्वयन गर्न ‘विफल’

रोकिएन धनगढीको सुकुटी नाला अतिक्रमण, नाला नै व्यक्तिको नाममा !
 

कमेन्ट लोड गर्नुस