सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्योलताका बीच डडेल्धुरामा रेडक्रस अभियान जारी

२०७७ फाल्गुन १६, ०४:३८ खबर संवाददाता

टेकराज अवस्थी, डडेल्धुरा: नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाको आयोजना र गाङखेत उपशाखाको आथित्यतामा आलिताल गाउँपालिका–२ मा गाङखेतको उणिकोट माध्यमिक विद्यालयमा दोश्रो साधारण सभा उद्घाटन समारोह सम्पन्न भएको हो।

सभामा नेपाल रेडक्रस सोसाईटीको वैधानिकतामा सरकारले ४ वर्षदेखि ध्यान नदिएर अन्तराष्ट्रिय रेडक्रस जेनेभा सम्मेलन विपरित सरकार आफैले हस्ताक्षर गरेको विषयमाथि खेलवाड गरिरहेको प्रशङ्ग उठेको छ।

सभाका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले रेडक्रसमा आवद्ध भएका विश्वभरिका १९४ मुलुक मध्ये नेपालमा मात्र रेडक्रस कानुन नभएको बताए।

संशोधन प्रस्ताव बमोजिम ४ वर्षसम्म पनि कानुन बनाउन नसक्नु पवित्र संस्थामाथिको गिद्धदृष्टि भएको उनले बताए। सेवाभाव भएका समाजसेवीहरुको भावना र रेडक्रसले योगदान गरेको सरकार साझेदारी अभियान माथिको अवमूल्यन भएको उनको भनाई थियो। 

उनले मानविय सेवा गर्ने पवित्र संस्थाको हक प्रदेश सरकारका हरेक गतिविधिमा रहने बताउँदै सरकारले विश्वव्यापी मूल्य मान्यतामाथि धावा बोलेका कारण संस्थाको मर्मलाई कुण्ठित बनाउन नमिल्ने जिकिर गरे।

सात निर्देशक सिद्धान्त रहेको अन्तराष्ट्रिय संस्था रेडक्रस सोसाईटीको नेपालमा नविकरण गराउनुपर्ने नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश महासचिव देवबहादुर बोहराले बताए। सबै तहमा निर्वाचन गराई संस्थाका सबै निकायलाई चलायमान गराउनुपर्ने दायित्व सरकारको भएको उनले बताए।

सरकारले यि सबै विषय बिर्सेर राजनीतिक आग्रह पूर्वाग्रहमा रहेर अनावश्यक रुपमा विधान संशोधन लगायत तदर्थ समितिलाई अकर्मण्य बनाई रहेको उनको भनाई थियो। 

समुदाय स्तरमा विपद्मा परेका नागरिकको उद्धार, स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरिरहेको संस्थालाई विवादमा तानेर रेडक्रस प्रतिको आम विश्वास र भरोसालाई कमजोर बनाउनतर्फ वर्तमान सरकार लागि परेको नेपाल रेडक्रस सोसाईटीका पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले बताए। 

उनले कुनैपनि संस्था संगठन देशविकास र समृद्धिका लागि व्यक्तिदेखि सरकारसम्म नेतृत्व ईमान्दार प्रतिबद्ध हुनुका साथै जनताको भावना बुझ्ने हुनपर्ने बताए।

कार्यक्रममा रेडक्रसकर्मीले मुलुकभरि १२ लाख आजिवन सदस्य रहेको र संकटासन्न अवस्थामा रहेका स्थानीय जनताको सुख दुःखमा साथ सहयोग दिइरहेको अन्तराष्ट्रिय संस्थामा आएको बिचलनले संस्थाका प्रत्येक कार्यक्रमहरु प्रभावित भइरहेकोले बन्धक बनाइन नहुने भन्ने आम सर्वसाधारणको ईच्छा आकांक्षालाई सरकारले गम्भीरताका साथ लिनुपर्ने भन्दै ध्यानाकर्षण पनि गराएका छन्।

समारोहका आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ्गले आलिताल गाउँपालिकामा दुई स्वास्थ्य चौकी रहेकोमा बढाएर ८ वटा पुगाएको बताए। गाङखेत लगायत गाउँपालिका सदरमुकाममा एक गरि २ एम्बुलेन्स संचालन भइरहेको उनले बताए। 

दश शैयाको अस्पताल स्थापना एवं स्वास्थ्य चौकीहरुको सेवा प्रवाह स्तरोन्नती लगायत स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गर्न सफल रहेको उनले बताए। रेडक्रस गाङखेत उपशाखालाई बिगतमा पनि सहयोग गरिरहेको र भविष्यमा आवश्यक सहयोग गर्न प्रतिबद्धता अध्यक्ष गुरुङ्गले गरे।

नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखा सभापति मदनराज चटौतले रेडक्रसको अभियानलाई साथ सहयोग र समर्थन जनाउने आबद्ध विभिन्न सदस्यहरु, सम्बद्ध संस्थाहरु लगायत डडेल्धुरावासीलाई धन्यवाद दिए। उनले केन्द्रको विवाद समाधान भए सोसाईटी अझै चलायमान हुने विश्वास व्यक्त गरे। रक्त संचार सेवालाई रंगुन क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको उनको भनाई थियो। 

कार्यक्रममा सेवा सम्पादनको मूल्यांकन गरि उत्कृष्ट उपशाखाको रुपमा भद्रपुर उपशाखालाई नगदसहित प्रसंशापत्र, आथित्य शाखाको रुपमा गाङखेतलाई कदरपत्र प्रदान गरिएको छ। ३२ जनालाई रेडक्रस आजिवन सदश्यता पनि प्रदान गरिएको छ।

सभामा जिल्ला शाखाका मन्त्री डम्बरबहादुर भण्डारीले साँगठनिक र कोषाध्यक्ष भोजराज भट्टले प्रस्तुत गरेको प्रतिबेदन पनि सर्वसम्मतले पारित गरिएको छ।
 

कमेन्ट लोड गर्नुस