सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोगको कारण देखाउ आदेशपछि धनगढी उप–महानगरपालिकाले दियो सूचना

२०७७ माघ १३, ०७:२५ खबर संवाददाता

धनगढीः राष्ट्रिय सूचना आयोगको कारण देखाउ आदेशपछि धनगढी उप–महानगरपालिकाले सार्वजनिक महत्वको सूचना उपलब्ध गराएको छ।

दिनेश एफएमले साबिक धनगढी नगरपालिका हुँदा २०६७ सालमा सार्वजनिक निजी साझेदारी अन्तरगत सञ्चालन गरिएको तरकारी, फलफूल र माछामासु बजारका विषयमा माग गरिएको सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दिइएको हो।

गत पुस १७ गते आयोगमा दर्ता भएको उजुरीमाथि सुनवाई गर्दै धनगढी उप–महानगरपालिकाका नाममा पुस २८ गते बाटोको म्याद बाहेक ७ दिन भित्र सूचना उपलब्ध गराउनू भन्ने आदेश गर्न नपर्नाको कारण भए आधार र प्रमाण सहित पेश गर्न आदेश जारी गरेको छ। 

सोमबार आदेशको छाँयाप्रति थमाएको उप–महानगरपालिकाले मंगलबार माग भएअनुसारका सूचना दिनेश एफएमलाई उपलब्ध गराएको हो। 

दिनेश एफएमले सूचनाको हक सम्बन्धी २०६४ अनुसार मंसिर ११ गते निवेदन दर्ता गर्दै उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीसँग सूचना माग गरेको थियो। तर कार्कीले सूचना उपलब्ध नगराएपछि मंसिर २८ गते नै निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज उपाध्याय समक्ष उजुरी दिइएको थियो। 

तर उपाध्यायले समेत सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरि सूचना उपलब्ध गराउन आदेश र सूचनाको हकबाट वञ्चित गराउने विपक्षीलाई कानून बमोजिम कारवाही गर्न माग गरेको थियो। 

कमेन्ट लोड गर्नुस