सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा

२०७७ माघ १२, ०९:११ रासस

शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ। 

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो। पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए। 

प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला,  पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए। नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरे। उनले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आज भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाए।

उनले विज्ञप्तिमा भनेका छनु, “संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ।” नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 
 

कमेन्ट लोड गर्नुस