सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पुग्यो

२०७७ माघ १२, ०६:३४ खबर संवाददाता

धनगढी: संघीय सरकारले सुदूरपश्चिमका पठाएको कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पुगेको छ।

आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको थियो। 

उक्त खोप सोमबार धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम विष्टले बताए।  

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ। 

पहिलो चरणमा  खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ।

यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र समेत तय गरेको छ। 

भारतले हालै अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि पनि पठाएको हो।

सुदूरपश्चिम कोरोना फैलिएको झण्डै ११ महिनापछि खोप आएको छ। 
 

कमेन्ट लोड गर्नुस