सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना विरुद्धको खोप १४ गतेबाट लगाउन सुरु गरिने: प्रधानमन्त्री

२०७७ माघ ९, ०६:२१ रासस

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । 

यसका लागि समूह तयार पारिसकेको उनले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । 

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

सामारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । उनले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । 

उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पुर्‍याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिए । उनले आवश्यकता अनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पु¥याउने लक्ष्य राखिएको बताए । उनले यस वर्ष एक अर्ब ४१ करोड अबैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिए । 

उक्त समारोहमा बङ्गलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुने सशस्त्र प्रहरीको नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको थियो भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।

कमेन्ट लोड गर्नुस