सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार रुपैयाँमा चिउरा तरकारी !

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ९, ०२:३४ रासस

तनहुँको व्यास नगरपालिका–१२ भड्खालामा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् । 

‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए ।

यस संस्थाले गएको भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भने, ’खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ । 

विद्यार्थीलाई संस्कृति सिकाइँदै

व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयले नेपाली पम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालेको छ । 

यस विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्नेलगायतका सीप सिकाउन थालेको हो । विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक शिक्षा प्रदान गरिएको शिक्षक लोकराज सेढाईंले बताए ।

संस्कृति र परम्परा लोप हुँदै जान थालेको अवस्थामा त्यसको संरक्षणका लागि विद्यार्थीलाई यस्ता सीपमूलक तालिम प्रदान गर्ने गरिएको उनले बताए । सरकारको नमुना विद्यालयका रुपमा निर्मल माविले इन्टरनेशनल स्कुल अर्वाडसमेत प्राप्त गर्न सफल भएको छ । 

अवार्ड प्राप्त कार्यक्रमअन्तर्गत विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत संस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले बताए । ब्रिटिस काउन्सिल लाइबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकाले विभिन्न सात आयोजनाको काम भइरहेको उनले बताए ।

विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित विषयका अलवा ग्रामिण जीवनको मूल आधारका रुपमा रहेका सीप सिकाएर नेपाल र नेपालीपन चिनाउने सुनौलो अवसरका रुपमा पनि लिइएको विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेत बताए । 

विद्यालयले विगत दुई वर्षअघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने, भकारी बुन्नेजस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । 

किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले छिटो र सजिलैसँग सिक्ने भएकाले ग्रामीण क्षेत्रबाट न्यून सङ्ख्यामा आएका विद्यार्थीले सीप जानेको भए पनि अधिकांशले नजान्ने भएकाले यस्ता सीपमूलक ज्ञान प्रदान गरिएको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सिर्जना तिवारीले बताए ।

कमेन्ट लोड गर्नुस