सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वी राजमार्गमा काम नसकिदै कालोपत्रे उप्कियो

२०७७ माघ ९, ०८:५६ खबर संवाददाता

प्रताप ओली, बझाङः जिल्लाको जयपृथ्वी राजमार्गको सडक कालोपत्रेको काम सम्पन्न नहुँदै उप्किन थालेको छ। जयपृथ्वी राजमार्गको १ सय ८ किलोमिटरको खोड्पे–चैनपुर सडकखण्डमा कमसल काम गरेपछि कालोपत्रे उप्किन थालेको गुनासो गरिएको छ। 

अहिले निर्माण कम्पनीले कालापत्रे, आरसीसी ढलान, नाली निर्माण र घुम्तीहरु चौडा पार्ने, पर्खाल निर्माण गर्ने काम जारी राखेकै बेला कालोपत्रे उप्किरहेको हो। 

स्थानीय अशोक मल्लले सडक मर्मतका क्रममा कमसल निर्माण सामाग्रीको प्रयोग गरिएपछि कालोपत्रे भत्किन थालेको बताए। उनले मापदण्डअनुसार २० मिलीमिटर मोटाइको कालोपत्रे हाल्नपर्नेमा १५ एमएमको मात्र हालेर कमसल काम गरिएको आरोप लगाए। 

आर्थिक वर्ष २०६५/६६ मा कालोपत्रे गरिएको ओटासिल सडक उप्कीकाले मर्मत सम्भार भइरहेपनि पुनः भत्किन थालेपछि आवतजावतमा सास्ती भइरहेकोे अर्का स्थानीय धिरेन्द्र मल्लले बताए।

उनले राजमार्गमा वर्षातको समयमा कच्ची सडक जस्तै हुने भन्दै चिन्ता व्यक्त गरे। राजमार्गका धेरै ठाउँमा कालोपत्रे गरिएको स्थानमा उप्किएर पानी जम्ने खाल्डाखुल्डी भएका छन। हिउँदको समयमा धुलो र वर्षातमा हिलो खप्नुपर्ने बाध्यता आइलागेको गुनासो गरिएको छ।

मर्मत सम्भापछि समेत कालोपत्रे उप्किएको गुनासोपछि सडक डिभिजन कार्यालय बैतडीले गुणस्तर मापन गर्न प्राविधिक टोली खटाएको डिभिजन प्रमुख रमेश चौधरीले बताए।

उनले कमसल काम गरेको ठाउँमा पुनः कालोपत्रे गर्न लगाइने बताए। हाल ८ करोडको लागतमा बझाङ, बैतडी र दार्चुलाका विभिन्न सडक मर्मत भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। 

कार्यालयकाअनुसार जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे–वित्थड, वित्थड–बाग्थला, बाग्थला–झोता र झोता–चैनपुर गरि चार खण्डमा ग्वाल्लेख निर्माण सेवाले ठेक्का पाएको छ। 

खोड्पेदेखि वित्थडसम्म ग्याभ ग्लाल्लेख जेभी र धुलिखेल जगदम्बा निर्माणले सडक मर्मत गरिरहेका छन्। वित्थडदेखि बाग्थलासम्म मुनाल कन्सट्रक्सनले भने वित्थडदेखि झोतासम्म ग्याभ ग्लाल्लेख जेभीले सडक मर्मत गरिरहेको छ। 

यस्तै झोतादेखि चैनपुरसम्म कुमार श्रेष्ठ निर्माण सेवा सडक मर्मत तथा कालोपत्रे गरिरहेको छ।

यता जागृत्ति निर्माण सेवाले बाग्थलादेखि चैनपुरसम्म आरसीसी ढलान, नाली निर्माण र मोडहरु चौडा पार्ने र पर्खाल निर्माण गर्ने काम गरिरहेको छ। यी सबै कम्पनी ग्वाल्लेख निर्माण सेवाबाट काम गरिरहेको सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर बर्खबहादुर कठायतले बताए।  

इन्जिनियर कठायतका अनुसार यसअघि १० करोड ९९ लाख सडक स्तरोन्नतीमा खर्च गरिसकेको ग्वाल्लेख निर्माण सेवाले अझैं १५ करोड ४७ लाख बराबरको काम गर्न बाँकी छ। यस्तै अन्य निर्माण कम्पनीबाट पनि ६ करोड ३२ लाखको काम हुन बाँकी छ।  
 

कमेन्ट लोड गर्नुस